कञ्चनपुर — कञ्चनपुरको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था आर्थिक वर्ष ०८१/०८२ मा जिल्लाकै उत्कृष्ट करदाता घोषित भएको छ। आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले राष्ट्रिय कर दिवस–०८२ का अवसरमा सो सहकारीलाई सम्मान गरेको हो।
भीमदत्त नगरपालिका–१८ महेन्द्रनगरस्थित केन्द्रीय कार्यालयमार्फत कर कारोबार गर्दै आएको उदयदेव सहकारीले गत वर्ष मात्रै २ करोड १५ लाख २३ हजार १७५ रुपैयाँ कर भुक्तानी गरेको कार्यालयले जनाएको छ। आन्तरिक राजस्व कार्यालयका निमित्त प्रमुख विजय भुसालका अनुसार पारिश्रमिक, सामाजिक सुरक्षा, ब्यास कर, लाभांश कर, घरबहाल तथा आयकरसहित सबै शीर्षकमा सबैभन्दा बढी कर तिर्ने सहकारी यही हो। जिल्लाभर करदाता संख्या ३३ हजार पुगेकोमा सहकारीहरूकै बीचमा पनि उदयदेव अग्रस्थानमा रहन सफल भएको कार्यालयको भनाइ छ। सम्मान समारोहमा प्रमुख अतिथि समेत रहेका निमित्त प्रमुख जिल्ला अधिकारी मोहन जोशीले सहकारीका अध्यक्ष नारा जोशीलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
२६ वर्षदेखि सुदूरपश्चिममा नेतृत्वदायी भूमिका
२६ वर्षदेखि सहकारी क्षेत्रमा क्रियाशील उदयदेव सहकारी सुदूरपश्चिममै सबैभन्दा परिचित संस्था मानिन्छ। सहकारीमा हाल २६ हजार २१८ सदस्य छन्। गत आर्थिक वर्षसम्म संस्थाले १ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले वृद्धि हो। त्यस्तै, १ अर्ब ६३ करोड ३० लाख रुपैयाँ ऋण लगानी गरिएको छ, जसमा ७.४५ प्रतिशत वृद्धि देखिएको छ। गत वर्ष सहकारीले २९ करोड ३३ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको थियो भने खर्च कटौती तथा कर्जा नोक्सानी व्यवस्थापनपछि ३ करोड ७५ लाख ९२ हजार रुपैयाँ शुद्ध नाफा आर्जन गरेको छ।
कृषि, हाउजिङ्गदेखि बीउ–बिजन प्रशोधनसम्म
सहकारीले कृषि, व्यवसाय, औद्योगिक तथा हाउजिङ्ग क्षेत्रमा लगानी गर्दै आएको छ। ४ हजार ६२० सदस्यको कर्जा बीमा गराएर ३२ लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको सहकारीले जनाएको छ। यससँगै सहकारीले महेन्द्रनगर, दोधारा–चाँदनी, दैजी, झलारी, कृष्णपुर, बेलौरी, अत्तरिया, डडेल्धुरा र बैतडीमा शाखामार्फत सेवा प्रवाह गरिरहेको प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दले बताए। कृषि प्रवर्द्धन केन्द्र, कस्टम हायरिङ सेन्टर, बीउ–बिजन प्रशोधन केन्द्र र राइस मिल सञ्चालन गरी सहकारीले समुदायमुखी सेवा विस्तार गरिरहेको छ।
सहकारी विश्वास संकटबीच ‘उदाहरणीय भूमिका’
हालका वर्षमा देशभरका धेरै सहकारीहरू अनियमितता र जालझेलले बदनाम भइरहेका बेला उदयदेव सहकारीले पारदर्शिता, नियमितता र कर अनुपालनमार्फत आफूलाई ‘उत्कृष्ट करदाता’का रूपमा स्थापित गरेको छ। अध्यक्ष नारा जोशीका अनुसार कर दिवसमा प्राप्त सम्मानले सहकारीलाई अझ जिम्मेवारीपूर्वक आर्थिक तथा सामाजिक क्षेत्रमा काम गर्न प्रेरणा दिएको छ।

प्रतिक्रिया दिनुहोस्