Skip to content

हेलम्बुमा निःशुल्क स्वास्थ्य सेवा युगको ढोका खुल्यो, ‘नुर जाङ्मु ह्योल्मो चिकित्सा केन्द्र’को सिलान्यास सम्पन्न

हेलम्बु – हेलम्बु गाउँपालिका–६, इचोकमा निर्माण हुने ‘नुर जाङ्मु ह्योल्मो चिकित्सा केन्द्र’को मंगलबार औपचारिक रूपमा सिलान्यास गरिएको छ। हेलम्बु गाउँपालिका, हेलम्बु स्वास्थ्य प्रतिष्ठान र धुलिखेल अस्पतालको संयुक्त पहल तथा छिरिङ्स फण्ड अमेरिकाको आर्थिक साझेदारीमा बन्ने यो केन्द्रलाई स्थानीयहरूले “हेलम्बुको स्वास्थ्य इतिहासकै नयाँ अध्याय” भनेर अभिव्यक्ति दिएका छन्। सिलान्यास समारोहमा नेपालका लागि अमेरिकाका राजदूत Dean R. Thompson, गुरु मिङ्ग्यूर रिन्पोछे, गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, छिरिङ्स फण्डका संस्थापक डा. पिटर स्केमाइडिङ, अध्यक्ष छिरिङ लामा, हेलम्बु स्वास्थ्य प्रतिष्ठानका अध्यक्ष पूर्ण गौतम तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

राजदूत Thompson ले दुर्गम पहाडी क्षेत्रमा आधुनिक स्वास्थ्य पूर्वाधार निर्माण हुनु स्थानीय जीवनस्तर उकास्ने महत्वपूर्ण कदम भएको बताए। “यसले समुदायलाई दीर्घकालीन स्वास्थ्य सुरक्षाको भरोसा दिनेछ,” उनले भने।

गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुमा स्वास्थ्य क्षेत्रको पूर्ण रूपान्तरण गर्ने लक्ष्यका साथ दन्त तथा आँखाका सबै सेवा निःशुल्क उपलब्ध गराइने घोषणा गरे। “स्वास्थ्य अब सुविधा होइन, अधिकार हो,” अध्यक्ष शेर्पाले भने।
उनका अनुसार क्यान्सर उपचारसहितका उन्नत सेवा विस्तार गर्दै हेलम्बुलाई “क्षेत्रीय स्वास्थ्य गन्तव्य” बनाउने योजना छ। हेलम्बु स्वास्थ्य प्रतिष्ठानका अध्यक्ष पूर्ण गौतमले नयाँ केन्द्रलाई ‘हेलम्बुको स्वास्थ्य सुरक्षाको मेरुदण्ड’ का रूपमा व्याख्या गर्दै भने—
“हेलम्बुवासीले अब उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता रहने छैन। आधुनिक उपकरण, दक्ष जनशक्ति र दिगो योजनासहित सेवा यतै उपलब्ध हुनेछ।” उनका अनुसार यो सुविधाबाट मेलम्ची, पाँचपोखरी, इन्द्रावतीलगायत आसपासका पालिकाले पनि प्रत्यक्ष लाभ पाउनेछन्।

प्रतिष्ठानका सचिव सुरेश तामाङका अनुसार परियोजनाले स्वास्थ्य क्षेत्रमा समान पहुँच, मर्यादित सेवा र दिगोपनाको नयाँ मानक स्थापित गर्नेछ। “हेलम्बु मात्र होइन, वरपरका सबै समुदायका नागरिकलाई समान सेवा प्रदान गरिनेछ,” उनले भने।

छिरिङ्स फण्डका संस्थापक डा. पिटर स्केमाइडिङले हेलम्बु समुदायप्रतिको आफ्नो भावनात्मक सम्बन्ध व्यक्त गर्दै भने—“यो पवित्र भूमि र अद्भुत समुदायका लागि योगदान दिन पाउनु मेरो लागि ठूलो सम्मान हो। यो चिकित्सा केन्द्रले दीर्घकालीन रूपमा मानिसहरूको जीवनमा सकारात्मक प्रभाव पार्नेछ।” उनका अनुसार भविष्यमा पनि स्वास्थ्य तथा विकासका महत्त्वपूर्ण परियोजनामा सहकार्य जारी रहनेछ। कार्यक्रममा गुरु मिङ्ग्यूर रिन्पोछेले करिब एक हजार जनालाई छेवार, मनि को लुङ, बज्रगुरु लुङ, ज्याम्बेयान लुङ तथा मंगलमय आशीर्वाद प्रदान गरे, जसले वातावरणलाई आध्यात्मिक शान्ति र आशाले भरिदियो।

‘नुर जाङ्मु ह्योल्मो चिकित्सा केन्द्र’ सञ्चालनमा आएपछि दन्त, आँखा, सामान्य उपचारदेखि लिएर विशेष परामर्शसम्मका सेवा पूर्णतः निःशुल्क उपलब्ध हुनेछन्। अन्य पालिकाका नागरिकले पनि समान रूपमा सेवा लिन सक्ने व्यवस्था हुनेछ। स्थानीय बासिन्दाहरूले वर्षौँदेखि प्रतीक्षित स्वास्थ्य सुविधा अब घर–आँगनमै पाउने भएपछि खुसी र कृतज्ञता व्यक्त गरे।  “अब उपचारका लागि दूरी, पैसा वा पहुँच भएकाले कोही वञ्चित हुने छैन,” उनीहरूले भने। सक्रिय सामुदायिक सहभागिता, सरोकारवाला संस्थाहरूको सहकार्य र अन्तर्राष्ट्रिय साझेदारको समर्थनमा सम्पन्न यो ऐतिहासिक सिलान्यासले हेलम्बुमा दिगो, समान र आधुनिक स्वास्थ्य सेवा युग सुरु भएको संकेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्