काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विभाजनको कुनै सम्भावना नरहेको स्पष्ट गर्दै नेता–कार्यकर्तालाई आश्वस्त रहन आग्रह गरेका छन् । कार्यसम्पादन समितिको बैठकका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेका शर्माले पत्रकारहरूसँगको कुराकानीमा विधानअनुसार अघि बढ्दा कांग्रेस एकताबद्ध नै रहने बताए । उनका अनुसार पार्टीभित्र आशंका गर्ने अवस्था छैन र कांग्रेस एक ढिक्काका रूपमा अघि बढ्नेछ । अहिलेको परिस्थितिमा महाधिवेशनमार्फत नयाँ नीति र नेतृत्व चयन गरेर निर्वाचनमा जानु उपयुक्त हुने धारणा उनले व्यक्त गरे । मिति तय गरिए पनि त्यसअनुसार आवश्यक तयारी र काम अघि नबढेकोप्रति उनले असन्तुष्टि जनाए । कांग्रेसभित्र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । यता पार्टीका संस्थापक पक्षधर नेताहरू भने निर्वाचनअघि पार्टी अधिवेशन गर्नु उपयुक्त नहुने मतमा छन् ।
महामन्त्रीहरू आगामी फागुन २१ को निर्वाचनअघि नयाँ नेतृत्वसहित पार्टी अघि बढ्नुपर्नेमा जोड दिँदै आएका छन् ।





प्रतिक्रिया दिनुहोस्