बैतडी – डिलासैनी गाउँपालिका–०६, बैतडीस्थित श्री निङ्लासैनी आधारभूत विद्यालय (नेगाउँ) को ३३औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक मोहनबहादुर बोहराले बताएका छन् । उनका अनुसार वार्षिकोत्सव कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर मालले गरेका थिए भने प्रमुख अतिथिका रूपमा वडा नम्बर ६ का सदस्य मान सिंह बोहरा सहभागी थिए । प्रधानाध्यापक बोहराले जानकारी दिएअनुसार वार्षिकोत्सवको पूर्वसन्ध्यामा विद्यालयले आयोजना गरेका विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलाप भलिबल, बिस्कुट दौड, स्किपिङ, हाजिरीजवाफ र वक्तृत्वकला—सम्पन्न गरी विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। साथै शैक्षिक सत्र २०८२ को अर्धवार्षिक परीक्षाको नतिजा पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा विद्यालयका पूर्व शिक्षक गोविन्द सिंह मालको बिदाइ कार्यक्रम समेत गरिएको थियो। सो अवसरमा विद्यालयको आय–व्यय विवरण प्रस्तुत गर्दै ३७ लाख ८६ हजार ३९१ रुपैयाँ बराबरको आर्थिक कारोबार भएको जानकारी पनि प्रधानाध्यापक बोहराले दिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मान सिंह बोहराले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि डिलासैनी गाउँपालिकाबाट आवश्यक पहल गरिने प्रतिबद्धता जनाएको प्रधानाध्यापक बोहराले बताए । कार्यक्रमको समापन गर्दै विव्यस अध्यक्ष नरबहादुर मालले विद्यालयको शैक्षिक उन्नतिका लागि अभिभावक, स्थानीय तह तथा सरोकारवाला सबैको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै आफ्नो कार्यकालमा शैक्षिक प्रगति गर्न निरन्तर प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेको पनि प्रधानाध्यापक बोहराले जानकारी दिए ।






प्रतिक्रिया दिनुहोस्