दार्चुला – लेकम गाउँपालिका वडा नं. ६ तेलिगाउँमा रहेको श्री मालिकार्जुन माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आज विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिनन्दन नाथको अध्यक्षतामा तथा लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माधवी जोशी, पूर्व उपाध्यक्ष परमानन्द जोशी, वडा नं. ६ का पूर्व वडा अध्यक्ष कमलापती मिश्र, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष जोशीले गत शैक्षिक सत्रदेखि विद्यालय समायोजनपछि नयाँ नेतृत्व आएपछि विद्यालयको शैक्षिक, व्यवस्थापकीय तथा भौतिक विकासमा उल्लेखनीय सुधार हुँदै गएको बताउनुभयो। शिक्षकहरूको लगनशीलता र अभिभावकको सहकार्यका कारण शिक्षाको गुणस्तर क्रमशः बढ्दै गएको उहाँको भनाइ थियो । विद्यालय समायोजनपछि नयाँ प्रधानाध्यापकका रूपमा नियुक्त श्री विजय राज मिश्रले विद्यालयको वार्षिक प्रगति तथा आय–व्यय विवरण सार्वजनिक गर्नुभयो। उहाँले विद्यालयको समग्र सुधारका लागि निरन्तर प्रयास जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गीत, हाजिरीजवाफ तथा खेलकुद गतिविधिहरू प्रस्तुत गरेका थिए। साथै, यस अवसरमा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयको विकासमा सहयोग पुर्याउने व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो ।






प्रतिक्रिया दिनुहोस्