काठमाडौँ – काठमाडौँको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले सरस्वती पूजाको अवसर पारेर सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम २०८२ भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गीत, सङ्गीत तथा मनमोहक नृत्य प्रस्तुतिहरूमार्फत उपस्थित अभिभावक तथा अतिथिहरूको मन जितेका थिए । कार्यक्रमको संयोजन विद्यालयका संयोजक नरेन्द्र पाण्डेयले गरेका थिए । कार्यक्रममा शैक्षिक, अनुशासन, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विभिन्न विधामा पुरस्कार तथा मेडल वितरण गरिएको थियो । साथै एसइइ २०८१ मा उत्तीर्ण विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको विद्यालयले जनाएको छ । यसै अवसरमा विद्यालयमा बिहान सरस्वती पूजा पनि विधिवत रूपमा सम्पन्न गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल चोलेन्द्र बहादुर कार्कीले शैक्षिक गुणस्तरका साथै संस्कार, संस्कृति र सिर्जनात्मक क्षमताको विकासमा विद्यालय निरन्तर क्रियाशील रहेको बताए । त्यस्तै विद्यालयका सञ्चालक तथा निर्देशक प्रेमकुमार भुजेलले विद्यार्थीको समग्र विकास नै विद्यालयको प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै अभिभावक, शिक्षक तथा कर्मचारीहरूको सहकार्यले विद्यालयलाई उत्कृष्ट बनाउँदै लगिएको धारणा व्यक्त गरे । कार्यक्रममा शिक्षक तथा कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो । वर्षभरि उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षकका रूपमा सम्झना दाहाल सम्मानित भएकी छिन् । कार्यक्रममा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो । अभिभावकहरूले विद्यालयले आयोजना गरेका यस्ता कार्यक्रमहरूले विद्यार्थीको आत्मविश्वास र प्रतिभा विकासमा महत्वपूर्ण योगदान पुर्याउने प्रतिक्रिया दिएका थिए ।






प्रतिक्रिया दिनुहोस्