बागमती – इन्द्रबहादुर बानियाँले मकवानपुरको गौरीटार रङ्गशालालाई बागमती प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा अघि बढाउने बताउनुभएको छ। बृहत खेलकुद, कृषि तथा पर्यटन महोत्सव हेटौँडा २०८२ को आज उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले गौरीटार रङ्गशालालाई अन्तरराष्ट्रियस्तरका खेलकुद प्रतियोगिता सञ्चालन गर्न सकिने स्तरको संरचनासहित प्रदेशको गौरवको आयोजनाका रूपमा विकास गरिने जानकारी दिनुभयो। उहाँले रङ्गशालामा हालसम्म सीमित बजेटमा केही काम भइसकेको उल्लेख गर्दै अब प्रदेश सरकारले एक अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर अन्तरराष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न सकिने पूर्वाधार निर्माण गर्ने बताउनुभयो । मुख्यमन्त्री बानियाँका अनुसार उक्त स्थानमा खेल मैदान, स्वीमिङ पुल, ब्याडमिन्टन, क्रिकेट, बास्केटबल, फुटबललगायत विभिन्न खेल सञ्चालन गर्न सकिने संरचना निर्माण गरिनेछ ।
उहाँले आगामी एक महिनाभित्र गौरीटार रङ्गशालामा बागमती प्रदेशस्तरीय खेल महोत्सव आयोजना गर्न लागिएको जानकारी दिँदै बागमती खेलकुद विकास परिषद्ले आयोजना गर्न लागेको उक्त कार्यक्रम सफल बनाउन जिल्ला खेलकुद विकास समितिलगायत सबै सरोकारवालाको सहयोग आवश्यक हुने बताउनुभयो । खेलाडीहरू समाज र राष्ट्रको पहिचान भएकाले अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि प्रदेश सरकारले संघीय तथा स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। साथै खेलकुद क्षेत्रको विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको उहाँको भनाइ थियो ।
कृषि र पर्यटन क्षेत्रको विकासमार्फत प्रदेशका जनताको आयस्रोत वृद्धि गर्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै उहाँले प्रदेशभित्रका पर्यटकीय क्षेत्रको संरक्षण र संवर्द्धन गर्दै पर्यटन विकासका लागि काम अघि बढाइएको बताउनुभयो । कार्यक्रममा ललितबहादुर घलान, वसन्त अधिकारी, प्रमोदराज रानाभाट र बालकृष्ण अधिकारी लगायतले पनि मन्तव्य राख्नुभएको थियो।
जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा हेटौँडा उपमहानगरपालिका–१० स्थित टिसीएनचौरमा आजदेखि सुरु भएको महोत्सव चैत १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षति पुनःस्थापना, खेलकुद सामग्री खरिद तथा खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त महोत्सवमा खेलकुद सामग्री, व्यापार तथा स्थानीय कृषि उत्पादनका करिब ४०० स्टल राखिएको आयोजकका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिनुभयो।
महोत्सवमा विभिन्न जातजातिका झाँकी, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, राष्ट्रिय महिला भलिबल, राष्ट्रिय तेक्वान्दो, जिल्लास्तरीय भलिबल, ब्याडमिन्टन, दौड तथा कराते प्रतियोगिता पनि समावेश गरिएको अध्यक्ष मोक्तानले बताउनुभयो।





प्रतिक्रिया दिनुहोस्