घोडाघोडी – कमलबहादुर शाहले वि.सं. २०४६ को जनआन्दोलन २०४६पछि भएका सबै भ्रष्टाचारका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभएको छ। घोडाघोडीस्थित घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयको नयाँ शैक्षिक भवनको शुक्रबार शिलान्यास गर्दै मुख्यमन्त्री शाहले भ्रष्टाचारविरुद्ध दृढतापूर्वक उभिन सरकारलाई आग्रह गर्नुभयो।
“२०४६ सालदेखिका सबै भ्रष्टाचारका मुद्दा छानबिन हुनुपर्छ । यस विषयमा कसैले खुट्टा नकमाउनुहोस्, हाम्रो पूर्ण साथ रहनेछ,” उहाँले भन्नुभयो। मुख्यमन्त्री शाहले मुलुक स्थिर सरकारतर्फ अघि बढिरहेको उल्लेख गर्दै अबको प्राथमिकता विकास र समृद्धि हुनुपर्नेमा जोड दिनुभयो। युवा पलायनप्रति चिन्ता व्यक्त गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई निर्वाचनका बेला गरिएका प्रतिबद्धता पूरा गर्न आग्रह गर्नुभयो। “हिजो प्रश्न गर्ने ठाउँमा रहनुभएका नेताहरू अहिले उत्तर दिने ठाउँमा पुग्नुभएको छ । अब बोलेका कुरा व्यवहारमा लागू हुनुपर्छ,” उहाँले भन्नुभयो, “युवाहरू विदेश जान कहिले रोकिन्छन् र बाहिर रहेकाहरू कहिले फर्कन्छन् ?” उहाँले प्रदेश संरचना र गणतन्त्रका विषयमा रास्वपाले स्पष्ट धारणा ल्याउनुपर्ने र देश विकासका लागि निश्चित समयसीमासहितको कार्यतालिका आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा मेघराज खड्काले संघीय सरकारलाई पाँच वर्ष स्थिर रूपमा काम गर्न र नेपालीहरू स्वदेश फर्कने वातावरण बनाउन सुझाव दिनुभयो। त्यस्तै जगत जोशीले समाज परिवर्तनका लागि नैतिक शिक्षा अनिवार्य रहेको धारणा राख्नुभयो। खडक रावतले तीनै तहका सरकारबीच समन्वय भए मात्र नगरको विकास सम्भव हुने बताउनुभयो। कार्यक्रममा डा. जीवन राना, लक्ष्मीप्रसाद भट्टराई र विष्णु सापकोटाले पनि शैक्षिक विकासका विभिन्न पक्षबारे विचार राख्नुभएको थियो। प्रदेश सरकारको १० करोड रुपैयाँ लागतमा निर्माण हुने ३६ कोठे शैक्षिक भवन तीन चरणमा सम्पन्न गरिनेछ। पहिलो चरणमा ४ करोड ६० लाख रुपैयाँको ठेक्का सम्झौता भई निर्माण सुरु भएको उक्त भवनको मुख्यमन्त्री शाहले शिलान्यास गर्नुभएको हो।





प्रतिक्रिया दिनुहोस्