Skip to content

चितवनमा तोरी उत्पादन घट्यो

चितवन – जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ। गत वर्षको तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ।

कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ निर्मल पौडेलका अनुसार गत वर्ष प्रतिहेक्टर १ दशमलव ३१ मेट्रिक टन उत्पादकत्व रहेकामा यस वर्ष १ दशमलव ०१ मेट्रिक टनमा झरेको छ। गत वर्ष जिल्लामा १८ हजार ५६५ मेट्रिक टन तोरी उत्पादन भएकामा यस वर्ष १४ हजार ३१५ मेट्रिक टन उत्पादन भएको छ।

जिल्लामा १४ हजार १७३ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिँदै आएको छ। उहाँका अनुसार तोरी उत्पादनमा कमी आउनुको मुख्य कारण बेमौसमी वर्षा हुनु हो। यससँगै किसानले दोस्रोपटक तोरी लगाउनुपर्ने बाध्यता पनि आएको थियो।

फूल फुल्ने समयमा हुस्सु लाग्नु र तुसारो पर्नुका कारण पनि तोरीको उत्पादन घटेको उहाँले बताउनुभयो।

चितवनलाई तोरी उत्पादनका लागि महत्त्वपूर्ण जिल्लाका रूपमा लिइँदै आएको छ। नगदे बालीतर्फ पछिल्ला वर्षहरूमा किसानको आकर्षण बढेसँगै तोरी खेती गर्ने किसानको सङ्ख्या पनि बढेको छ। विशेषगरी जङ्गली जनावरले तोरीमा क्षति नपुर्याउने भएकाले यसतर्फ किसानको आकर्षण बढेको उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्