अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने घोषणा गरेका छन् । मंगलबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले जारी युद्ध अब धेरै नलम्बिने बताएका हुन् । ‘हामी चाँडै बाहिरिनेछौं। सम्भवतः दुई हप्ता, सायद दुई वा तीन हप्ताभित्र,’ उनले भने । युद्ध अन्त्यका लागि इरानसँग सम्झौता अनिवार्य शर्त नभएको पनि ट्रम्पले बताए। अमेरिकाले फेब्रुअरी २८ मा इसराइलसँग मिलेर इरानमा हमला गरेको थियो । अमेरिकाले इरानविरूद्धको सैन्य कारबाहीलाई ‘अपरेसन एपिक फ्युरी’ नाम दिएको छ । ‘अपरेसन एपिक फ्युरी अन्त्य गर्न कुटनीतिक सम्झौता आवश्यक छैन। इरानले हामीसँग सम्झौता गर्नै पर्छ भन्ने पनि छैन,’ ट्रम्पले पत्रकारहरूसँग भने । इरानको शासन परिवर्तन अमेरिकाको उद्धेश्य नरहेको पनि ट्रम्पले बताएका छन्। युद्धको सुरूवात र त्यसभन्दा अघि ट्रम्पले इरानको सत्ता परिवर्तन अमेरिकाको चाहना रहेको बताएका थिए ।
इरानमा आन्दोलन हुँदा ट्रम्पले पटकपटक त्यहाँका जनतालाई इरानी सत्ताविरूद्ध संघर्ष गर्न आह्वान गर्दै अमेरिकाले सहायता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । इरानमा हमलापछि पनि उनले त्यहाँका जनतालाई सम्बोधन गर्दै सत्ता हातमा लिन आह्वान नै गरेका थिए । त्यतिबेला इरानलाई केही दिनमै घुँडा टेकाउने ट्रम्पको दाबी विपरीत युद्ध एक महिनाभन्दा बढी समयसम्म लम्बिएपछि उनले इरानी सत्ता परिवर्तन अमेरिकाको चाहना नभएको बताएका हुन् ।
‘शासन परिवर्तन हाम्रो लक्ष्य थिएन । लक्ष्य एउटै थियो- अब इरानसँग आणविक हतियार हुने छैन। हामीले हाम्रो लक्ष्य प्राप्त गरेका छौं। अब उनीहरूसँग आणविक हतियार हुने छैन। हामी त्यो काम पूरा गर्दैछौं,’ ट्रम्पले भने ।
वार्ताको सन्दर्भमा पनि ट्रम्प सकारात्मक सुनिए । ‘हामीसँग धेरै फरक मानिसहरुको समूह छ। उनीहरू व्यावहारिक पनि छन्,’ उनले भने । इरान युद्ध अन्त्यका लागि पाकिस्तान, इजिप्ट लगायतका देशहरूले दुवै पक्षसँग संवाद गरिरहेको छ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले भन वार्ता जारी रहेको र बलियो बन्दै गएको बताएका छन्। उनले इरानले अमेरिकी प्रस्ताव स्वीकार नगरे युद्ध जारी राख्न अमेरिका तयार रहेको पनि चेतावनी दिएका छन् । ‘हामीसँग विकल्पहरू बढ्दै गएका छन्, इरानका विकल्प घट्दै गएका छन्, अबका केही दिन निर्णायक हुनेछन्,’ उनले भने ।
इरानका विदेशमन्त्री अब्बास अराग्चीले अमेरकी विशेष दूत स्टिभ विटकोफमार्फत सन्देश आदान प्रदान भइरहेको स्वीकार गरेका छन् । यद्यपि त्यसैलाई औपचारिक वार्ता भन्न नमिल्ने उनले बताएका छन्। ती सन्देशहरूमा धम्की र आ-आफ्नो धारणा मात्रै रहेको पनि उनले बताएका छन् । युद्ध पाँचौं हप्तामा प्रवेश गर्दै गर्दा अमेरिकी राष्ट्रपति ट्रम्पले स्थानीय समाचार अनुसार बुधाबर बेलुकी देशवासीको नाममा सम्बोधन गर्ने तय भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्