काठमाडौं – नेपाल र भारतबीचको ऊर्जा सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित चमेलिया (नेपाल)–जौलजीवी (भारत) २२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने भएको छ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशन समितिको १३औँ बैठकले उक्त प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गर्दै सन् २०२८ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य तय गरेको हो ।
बुधबार पोखरामा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी र भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा बसेको बैठकले प्रसारण लाइन निर्माणलाई प्राथमिकतामा राख्दै आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । बैठकले नेपाल–भारतबीच विद्युत आयात–निर्यात क्षमता विस्तारका लागि ढल्केबर–मुजफ्फरपुर तथा प्रस्तावित ढल्केबर–सीतामढी ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत संयुक्त विद्युत प्रवाह क्षमता वृद्धि गर्ने निर्णय पनि गरेको छ । यसअनुसार आयात क्षमता एक हजार मेगावाटबाट १४०० मेगावाट र निर्यात क्षमता ११०० मेगावाटबाट १६५० मेगावाट पुर्याइनेछ ।
त्यसैगरी, इनरुवा–न्यू पूर्णिया, दोधोधरा–न्यू लम्की–बरेली तथा मोतिहारी–निजगढ अन्तरदेशीय प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढाउने, मुजफ्फरपुर–ढल्केबर प्रसारण लाइनको क्षमता विस्तार गर्ने तथा नयाँ बुटवल–गोरखपुर प्रसारण लाइनलाई अस्थायी रूपमा २२० केभीमा सञ्चालन गर्ने विषयमा पनि सहमति भएको छ । ऊर्जा मन्त्रालयका अनुसार सचिवस्तरीय बैठकले गरेका पाँच बुँदे सहमतिलाई शीघ्र कार्यान्वयनमा लैजाने तयारी भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्