काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३–२४ का घटनापछि देश ‘प्रतिक्रान्ति’ तर्फ अघि बढेको आरोप लगाएका छन् । एमालेको ११औँ महाधिवेशनका लागि नवयुग ई–बुलेटिन शुभारम्भ गर्दै उनले प्रतिगमन हटाएर देशलाई मूल धारमा फर्काउनु आजको आवश्यकता भएको बताए । ओलीले विधि–प्रक्रिया बिना नै आफूलाई सरकार घोषणा गर्नेलाई लोकतन्त्रमाथिको उपहास भन्दै आक्षेप लगाए । असंवैधानिक सरकारले असंवैधानिक रूपमा विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने उनको दाबी छ ।
उनका अनुसार सरकारले बनाएको छानबिन आयोग ‘जनतालाई झुक्याउने बुख्याचा’ मात्र हो। प्रधानमन्त्री सुशीला कार्कीलाई चुनौती दिँदै उनले आफूविरुद्ध प्रमाण तयार गर्न आग्रह गरे। अहिलेको सरकारलाई उनले ‘अनाडी’ र ‘अनधिकृत काममा लिप्त’ सरकारका रूपमा चित्रित गरे । चुनाव गराउने सरकार भए वातावरण बनाउनुपर्ने बताउँदै ओलीले अपराधी तथा हतियार बाहिर छाडेर चुनाव हुन नसक्ने स्पष्टाए। उनका अनुसार सरकारले चुनावभन्दा ‘पुराना दल फर्किन्छन्’ भन्ने डर देखाएको छ । एमाले देश, लोकतन्त्र, संविधान र राष्ट्रिय हितका पक्षमा निरन्तर क्रियाशील रहेको दाबी गर्दै ओलीले पार्टीलाई अझ अपडेट हुनुपर्ने आवश्यकता औंल्याए । उनले देश विभाजित अवस्थाबाट गुज्रिरहेको बताउँदै सत्य सूचना सम्प्रेषणमा एमालेले जिम्मेवारीपूर्वक भूमिका खेल्ने बताए ।




प्रतिक्रिया दिनुहोस्