Skip to content

एनपीएल : विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश

काठमाडौं – सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनलमा प्रवेश गरेको छ। मङ्गलबार टीयू क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै लगातार दोस्रो पटक फाइनल यात्रा सुनिश्चित गरेको हो। १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमै ७८ रनमा समेटियो। विराटनगरका ओपनर फाफ डु प्लेसिसले ३६ रन बनाए पनि अन्य बल्लेबाजले साथ नदिँदा टोली ठूलो अन्तरले पराजित भयो। साम हिजलेट ०, मार्टिन गुप्टिल २, नरेन भट्ट ०, बसिर अहमद १२, लोकेश बम ५, नारायण जोशी १, मार्चन्ट डि लिङ १५, कप्तान सन्दीप लामिछाने ३ र प्रतिश जिसी ३ रनमा आउट भए।

सुदूरपश्चिमका बलरहरूले सानदार प्रदर्शन गरे। हर्मित सिंह, अभिनास बोहरा र स्कट कुगेइलेनले दुई–दुई विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले एक–एक विकेट हात पारे। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रनको योगदान दिए। उनले ५२ बलमा ३ चौका र २ छक्का प्रहार गरे। अन्यमा शेल्डन ज्याकसन २०, आरिफ शेख २०, इशान पाण्डे १३, हर्मित सिंह १४ रनमा आउट भए। स्कट कुगेइलेइन १ र मिलन बोहरा ५ रनमा अविजित रहे। विराटनगरका मार्चन्ट डि लिङ र प्रतिश जिसीले दुई–दुई विकेट लिए भने सूर्य तामाङ र साम हिटलेटले एक–एक विकेट हात पारे। पहिलो सिजनमा जनकपुर बोल्ट्ससँग फाइनलमा पराजित भएको सुदूरपश्चिमले यसपटक उपाधिका लागि शनिवार खेल्नेछ। यसैबीच, पराजित विराटनगरले दोस्रो क्वालिफायरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्