काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित मुद्दाको पेशी बुझ्न आज जिल्ला अदालत काठमाडौं पुगेका छन् । अदालत परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यंग्य गर्दै आफू ‘गुन तिर्न’ आएको बताएका छन् । ओलीले हालै एक अन्तरवार्तामा आफूले रवि लामिछानेलाई धेरै गुन लगाएको तर उनले आफ्नो विरोध मात्रै गरेको गुनासो गरेपछि त्यसको जवाफस्वरूप लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन् । लामिछानेले भने, “केपी ओलीजीले गुन लगाइदिनुभएको छ, त्यही तिर्न आएको हुँ।” साथै, विभिन्न जिल्लाका अदालतमा तारिख लिनु पर्दा आफूलाई निकै दबाब परेको समेत उनले बताए। सातवटा जिल्लामा हाजिर हुनुपर्ने अवस्थालाई उल्लेख गर्दै उनले जिउभरि किला ठोकेजस्तो महसुस भइरहेको बताए । उनले भने, “जिउभरि किला ठोकेजस्तो भएको छ। ७ दिनभित्र बाँकी सबै अदालतमा गएर हाजिर गर्नुपर्ने हुन्छ। तारिख मिलाउनुपर्ने हुन्छ, अर्काले तारिख लिइसक्या होला । दौडादौड चलिराख्या छ । बिष शरीरभरि बाँकी नै छ, त्यसका लागि तयारी गर्दैछु ।” लामिछाने हालै उच्च अदालत तुलसीपुरको आदेशपछि नख्खु कारागारबाट रिहा भएका हुन् । विभिन्न सहकारीसम्बन्धी मुद्दामा उनीविरुद्ध अदालतमा प्रक्रिया अगाडि बढिरहेको छ ।





प्रतिक्रिया दिनुहोस्