दार्चुला – नेपाल पर्यटन बोर्डमार्फत UNDP/STP परियोजना र अपिहिमाल गाउँपालिकाको संयुक्त आयोजना तथा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको प्रशिक्षक तथा प्राविधिक सहयोगमा आधारभूत डोरी तथा उद्धार तालिम अपिहिमाल गाउँपालिकामा सञ्चालनमा आएको छ । बुधबार एक विशेष कार्यक्रमका बीच अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले आफैँ रक क्लाइम्बिङ गर्दै तालिमको उद्घाटन गरेका छन् । अध्यक्ष बोहराले रक मै चढेर तालिम तथा रक क्लाइम्बिङ स्पोर्टको उद्घाटन गरेपछि कार्यक्रम थप रोमाञ्चक बनेको छ । अपिहिमाल गाउँपालिका कार्यालय नजिकैको जारकोट भन्ने स्थानमा पहिलो पटक व्यवसायिक रक क्लाइम्बिङ स्पोर्ट निर्माण गरिएको छ । अबदेखि यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यही स्थानमा व्यवसायिक रक क्लाइम्बिङ तालिम, अभ्यास तथा रेस्क्यु सीप प्रदान गरिनेछ ।
गाउँपालिका अध्यक्ष बोहराका अनुसार यस पहलले अपिहिमाललाई एडभेन्चर टुरिज्मको नयाँ गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । साथै यसबाट स्थानीय युवालाई सीपमूलक तालिम, रोजगारी तथा पर्यटनमार्फत आर्थिक अवसर सिर्जना हुने विश्वास गरिएको छ । यस किसिमको पूर्वाधार र तालिम कार्यक्रमले अपिहिमाल गाउँपालिकालाई साहसिक पर्यटन, पर्वतीय खेलकुद र सुरक्षित आरोहण अभ्यासको केन्द्रका रूपमा चिनाउने अपेक्षा गरिएको छ । पछिल्लो समय अपिहिमाल गाउँपालिकाले पर्यटनका क्षेत्रमा उल्लेख्य काम गर्दै आइरहेको छ ।





प्रतिक्रिया दिनुहोस्