Skip to content

निर्वाचनअघि महाधिवेशन आत्मघाती हुन सक्छ : नेविसंघ नेतृ गुरुङ

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई नेपाली कांग्रेसका लागि जीवन–मरणको प्रश्न भएको नेविसंघ नेतृ गीता गुरुङले बताएकी छन् । उनले निर्वाचनको मुखमा महाधिवेशन गर्नु पार्टीका लागि आत्मघाती निर्णय हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेकी छन् ।

गुरुङका अनुसार कांग्रेसले विगतका निर्वाचनमा प्राप्त जनादेश जोगाउने कि थप मजबुत बनाउने भन्ने रणनीतिक निर्णय अहिलेको मुख्य प्राथमिकता हो । “निर्वाचन नजिकिँदै गर्दा पार्टी एक्लै लड्ने कि गठबन्धन गर्ने भन्ने जस्ता गम्भीर प्रश्नहरूको उत्तर खोज्नुपर्ने बेला हो,” उनले भनिन्, “यस्तो अवस्थामा महाधिवेशन गर्दा आन्तरिक कलह र गुटबन्दी चुनावी मैदानसम्म पुग्ने खतरा रहन्छ ।” उनले नेतृत्वको लडाइँले कार्यकर्तालाई विभाजित बनाउने, संगठन कमजोर पार्ने र मतदातामाझ नकारात्मक सन्देश जाने उल्लेख गरिन् । “परिणामस्वरूप कांग्रेसको पराजय मात्र होइन, लोकतान्त्रिक शक्तिको क्षयीकरणसमेत हुन सक्छ,” गुरुङको भनाइ छ ।

अहिले महाधिवेशन गर्नु भनेको पार्टीको ऊर्जा आन्तरिक झगडामा खर्च गर्नु भएको उनको तर्क छ । निर्वाचन नजिकिँदै गर्दा कार्यकर्ताको ध्यान मतदाता परिचालन, संगठन विस्तार र नीतिगत बहसमा केन्द्रित हुनुपर्ने उनले जोड दिइन् । “महाधिवेशनले नेतृत्वको होडबाजी बढाउँछ, जसले पार्टीको एकतालाई खलबल्याउँछ,” उनले भनिन् । विगतका अनुभव स्मरण गर्दै गुरुङले महाधिवेशनको पूर्वसन्ध्यामा गुटहरू सक्रिय हुने, आरोप–प्रत्यारोप चल्ने र पार्टीको छवि धमिलिने गरेको बताइन्। “यस्तो संवेदनशील घडीमा यस्तो जोखिम किन लिने?” उनको प्रश्न छ । उनका अनुसार निर्वाचन जितेर बलियो जनादेश प्राप्त गरेपछि मात्र महाधिवेशन गर्नु उपयुक्त हुनेछ । “निर्वाचनअघि महाधिवेशनले ल्याउने मनमुटावले पार्टीको चुनावी सम्भावनालाई नै धराशायी बनाउन सक्छ,” उनले भनिन्, “त्यसैले पार्टीका लागि आत्मघाती साबित हुन सक्ने निर्णयविरुद्ध खबरदारी आवश्यक छ ।” नेविसंघ नेतृ गीता गुरुङ १४औँ महाधिवेशनमा सोलुखुम्बुबाट महाधिवेशन प्रतिनिधि रहेकी हुन्। उनी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूचीमा समेत परेकी छन् ।

प्रतिक्रिया दिनुहोस्