काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य दीपक बोहरा कञ्चनपुर २ बाट आगामी आमनिर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् । क्षेत्रीय कमिटीले आज एकल नाम सिफारिस गरेसँगै उनको उम्मेदवारी सुनिश्चित भएको हो । शुक्लाफाँटा, बेदकोट र कृष्णपुर नगर समितिसहित ती नगरका सबै वडाका प्रतिनिधि र अन्य आकांक्षी उम्मेदवारको संयुक्त बैठकले बोहरालाई सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय संयोजक गणेश खड्काले जानकारी दिए । यसअघि कञ्चनपुर–२ बाट प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गरेका झंकर जोशी र अहिलेका आकांक्षी घनश्याम विष्ट नै बोहराको प्रस्तावक र समर्थक रहेका थिए ।
बोहराले आफूलाई सिफारिस गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले फेसबुकमा लेखेका छ, ‘कञ्चनपुर क्षेत्र नम्बर–२ बाट रास्वपा उम्मेदवारका रूपमा मलाई सर्वसम्मत सिफारिस गर्नुभएकोमा आभारी छु । पार्टी पङ्क्तिको यो विश्वास धरमराउन दिने छैन । अन्य आकांक्षी घण्टी मित्रहरूको त्यागको उच्च सम्मान गर्ने छु । र, उहाँहरूको न्यायको पक्षमा सधैँ उभिनेछु ।’ बोहरा रास्वपाका संस्थापकमध्ये एक हुन् । यसअघि उनी सहकोषाध्यक्ष थिए । पार्टी सभापति रवि लामिछानेसँग निकट रहेर उनलाई बलियो साथ दिइरहेका छन् । उनकै नेतृत्वमा रास्वपाले रविको पक्षमा हस्ताक्षर अभियान चलाएको थियो । कञ्चनपुर २ मा अघिल्लो चुनावमा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद विजयी बनेका थिए । उनले २८ हजार १ सय मत ल्याउँदा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मतसहित दोस्रो स्थानमा रहेका थिए ।





प्रतिक्रिया दिनुहोस्