Skip to content

अमेरिकाद्वारा भेनेजुएलाको तेल बोकेका थप दुई पानीजहाज नियन्त्रण, अन्तर्राष्ट्रिय तनाव चर्कियो

वासिङ्टन – अमेरिकाले भेनेजुएलाको तेल बोकेको थप दुई वटा पानीजहाज नियन्त्रणमा लिएको छ । भेनेजुएलामा सैन्य कारबाही गरी राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई पक्राउ गरेपछि अमेरिकाले तेल ढुवानीमा प्रयोग हुँदै आएका जहाजहरूमाथि कारबाही तीव्र पारेको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यसपटक अमेरिकाले रूसी ध्वजाबाहक एक पानीजहाज र पनामाको ध्वजावाहक अर्को जहाज नियन्त्रणमा लिएको हो । अमेरिकी अधिकारीहरूले दिनौँसम्म खोजी गरेपछि ती जहाजहरू नियन्त्रणमा लिएका हुन् ।

यसअघि पनि मदुरो पक्राउ हुनुअघि अमेरिकाले क्यारेबियन क्षेत्रबाट भेनेजुएलाको तेल बोकेका दुई पानीजहाज नियन्त्रणमा लिएको थियो । पछिल्लो कारबाहीलाई राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सम्पूर्ण अमेरिकन महादेशमा तेल आपूर्ति नियन्त्रण गर्ने र भेनेजुएलाको समाजवादी सरकारलाई अमेरिकी हितअनुकूल बनाउने आक्रामक नीतिको हिस्सा भएको बताएको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार बुधबार बिहान अमेरिकी कोस्ट गार्ड र विशेष सैन्य बलले ‘मारिनेरा’ नामक कच्चा तेल बोकेको पानीजहाज नियन्त्रणमा लिएका हुन् । उक्त जहाजले अघिल्लो महिना निरीक्षण अस्वीकार गरेपछि आफ्नो झन्डा परिवर्तन गरी रुसी झन्डा प्रयोग गर्न थालेको रोयटर्सले जनाएको छ ।

यस कारबाहीमा बेलायतको रोयल एयर फोर्स र एक सैन्य जहाजले पनि सहयोग गरेको बेलायती रक्षा सचिव जोन हिलीले बताएका छन् । कारबाहीका क्रममा रुसी पनडुब्बी र अन्य जहाजहरू नजिकै रहेकाले रूससँग थप तनाव बढ्ने जोखिम देखिएको छ । युक्रेन युद्धका कारण पश्चिमी मुलुकहरूसँग पहिले नै तनावमा रहेको रूसले भेनेजुएला विषयमा अमेरिकी कदमको आलोचना गर्दै आएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले उक्त पानीजहाज ‘नक्कली रूपमा रुसी पहिचान प्रयोग गरी प्रतिबन्ध छल्न खोजिएको’ दाबी गरेका छन् । बुधबार नै अमेरिकी कोस्ट गार्डले भेनेजुएलाको तेल बोकेको पनामाको ध्वजावाहक ‘एम सोफिया’ ट्यांकर पनि दक्षिण अमेरिकाको उत्तरपूर्वी तट नजिक नियन्त्रणमा लिएको थियो। यो पछिल्ला केही हप्तामा भएको चौथो नियन्त्रण कारबाही हो ।

अमेरिकाले ती दुवै ट्यांकर भेनेजुएला र इरानबाट प्रतिबन्धित तेल ढुवानी गर्न प्रयोग भएको आरोप लगाएको छ । ह्वाइट हाउसका उपप्रमुख स्टेफन मिलरले अमेरिकी कानुन र राष्ट्रिय सुरक्षासँग मेल खाने ऊर्जा ढुवानी मात्र मान्य हुने स्पष्ट पारेका छन् ।

यस घटनाप्रति रूस र चीनले कडा प्रतिक्रिया जनाएका छन् । मस्कोको यातायात मन्त्रालयले अमेरिकी कदमको निन्दा गर्दै रूसी नागरिकलाई सम्मानजनक व्यवहार गर्न र चाँडै घर फर्कन अनुमति दिन माग गरेको छ । मन्त्रालयले उक्त जहाजलाई अस्थायी रूपमा आफ्नो झन्डा प्रयोग गर्न अनुमति दिएको दाबी गर्दै कुनै पनि देशलाई अन्य देशको क्षेत्राधिकारमा कानुनसम्मत रूपमा दर्ता भएका जहाजविरुद्ध बल प्रयोग गर्ने अधिकार नभएको बताएको छ ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भेनेजुएलामाथि बल प्रयोग गर्दै ‘अमेरिका फर्स्ट’ नीति थोपर्ने कार्यलाई ‘धम्की र दबाबको राजनीति’को संज्ञा दिएका छन्। चीन भेनेजुएलाको तेलको प्रमुख आयातकर्ता हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकाको पछिल्लो कदमले विश्वका शक्ति राष्ट्रहरूबीच थप तनावको वातावरण सिर्जना गरेको छ । यसैबीच राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत भेनेजुएलासँगको तेल सम्झौताबाट प्राप्त रकम अमेरिकी कृषि उत्पादन र औषधि खरिदमा प्रयोग गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्