Skip to content

मुलुक र एमालेविरुद्ध प्रतिक्रियावादी षड्यन्त्र भइरहेको छ : केपी शर्मा ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र आफ्नो पार्टीविरुद्ध प्रतिक्रियावादी शक्तिहरूले निरन्तर षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। कम्युनिष्ट आन्दोलनको सुरुआतदेखि नै यस्ता गतिविधि हुँदै आएको र अहिले पनि त्यसैको निरन्तरता रहेको उनको भनाइ छ । ४२औँ पिस्कर सहिद स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले कुनै पनि शक्तिको कृपाले स्थापित नभई लामो संघर्षबाट यहाँसम्म आइपुगेको स्पष्ट पारे। संघर्षकै बलमा पार्टी टिकेको र अगाडि बढिरहेको उनको दाबी थियो । उनले प्रतिक्रियावादी शक्तिहरूले गरिरहेका षड्यन्त्रलाई सफल हुन नदिने दृढता व्यक्त गरे। नेकपा एमाले सशक्त रूपमा रहँदासम्म देशविरुद्ध र पार्टीविरुद्ध हुने कुनै पनि षड्यन्त्र सफल नहुने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले नेपाललाई कमजोर पार्ने प्रयासहरू असफल हुने उल्लेख गर्दै देश हार्ने अवस्था आउन नदिने जिकिर गरे। नेकपा एमालेले लोकतन्त्र, राष्ट्रियता र जनताको हितको रक्षा गर्दै अघि बढ्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्