काठमाडौँ – रामेछापमा श्यामकुमार श्रेष्ठ ‘कुशल’ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट रामेछापमा उम्मेदवारी दर्ता गराएका हुन् । उनी यसअघि तत्कालिन नेकपा माओवादी केन्द्रका तर्फबाट गृहराज्य मन्त्रीसमेत भइसकेका छन् ।
मन्थली नगरपालिकामा २०२८ साल पुष ३ गते जन्मिएका श्रेष्ठले विद्यार्थी जीवनदेखि नै राजनीतिक गतिविधिमा सक्रियता राखेका थिए । २०४३ सालमा मसालबाट राजनीतिक यात्रा सुरु गरेका उनले रामेछापको विद्यार्थी संगठनमा काम गर्दै २०४७ सालमा पार्टी सदस्यता लिए । २०४८ को एकता महाधिवेशनपछि उनी जिल्ला कार्य समिति रामेछापको सदस्य बने ।
२०५१ सालदेखि सुरु भएको जनयुद्धका क्रममा उनले अर्धभूमिगत तथा पूर्णकालीन सदस्य भएर महत्वपूर्ण जिम्मेवारी सम्हाले । २०५७ सालमा पूर्णकालीन सदस्य बनेपछि पूर्वी कमाण्ड अन्तर्गत रामेछाप–काभ्रे क्षेत्रको सब–एरिया सेक्रेटरी, जिल्ला कमाण्डको इन्चार्ज हुँदै रामेछाप–काभ्रे क्षेत्रको इन्चार्ज सेक्रेटरीको जिम्मेवारी निर्वाह गरे । जनयुद्धका क्रममा दर्जनौँ मोर्चामा सहभागी हुँदा उनी पटक–पटक ज्यानको जोखिममा परे तर कठिन परिस्थितिबाट बच्दै नेतृत्वदायी भूमिकामा निरन्तर सक्रिय रहिरहे । संविधानसभा सदस्यका रूपमा काम गरिसकेका श्रेष्ठ पछि गृहराज्य मन्त्रीको जिम्मेवारीमा समेत रहे । उनी विकास, सुशासन र स्थानीय सशक्तिकरणका पक्षधर मानिन्छन् । रामेछापको समग्र विकासका लागि सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत र पर्यटनलाई प्राथमिकतामा राख्दै दीर्घकालीन योजनासहित काम गर्ने प्रतिबद्धता उनले व्यक्त गर्दै आएका छन् । लामो राजनीतिक संघर्ष, संगठनात्मक अनुभव र सरकारी जिम्मेवारीको पृष्ठभूमिसहित श्यामकुमार श्रेष्ठ ‘कुशल’ यस पटक पनि निर्वाचनमा रामेछापको प्रतिनिधित्वका लागि मैदानमा उत्रिएका छन् ।





प्रतिक्रिया दिनुहोस्