Skip to content

अवैधानिक ‘विशेष महाधिवेशन’ बाट बनेको समिति अस्वीकार्य : निमा ग्याल्जेन शेर्पा

काठमाडौं – नेपाली कांग्रेसभित्र गरिएको ‘विशेष महाधिवेशन’ प्रक्रियालाई अवैधानिक, अपारदर्शी र अलोकतान्त्रिक भन्दै कांग्रेसका महासमिति सदस्य तथा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले कडा आपत्ति जनाएका छन्। शेर्पाले गलत तरिकाले पार्टी कब्जा गरेर उम्मेदवार छनोट गरिएको अवस्थामा सच्चा कांग्रेसजनले त्यस्ता उम्मेदवारका लागि भोट माग्नुपर्ने कुनै बाध्यता नरहेको स्पष्ट पारे । उनका अनुसार ‘विशेष महाधिवेशन’ को नाममा पार्टी संरचना कब्जा गर्ने प्रवृत्ति अत्यन्तै खतरनाक परम्पराको सुरुवात हो। “आज यस्तो गरियो भने भोलि अरूले पनि यही उदाहरण दोहोर्याउनेछन्। यसले पार्टीभित्र अराजकता, अन्याय र अनिश्चितता निम्त्याउँछ,” उनले चेतावनी दिए । उनले विशेष महाधिवेशनमा भौतिक रूपमा जम्मा १३३७ जना मात्र उपस्थित रहेको दाबी गर्दै यति सीमित उपस्थितिले सम्पूर्ण पार्टी नेतृत्व परिवर्तन गर्न नपुग्ने जिकिर गरे। “कसले, कसरी र कुन आधारमा अधिकार प्राप्त गर्यो भन्ने विषय नै गम्भीर रूपमा शंकास्पद छ। यो प्रक्रियामाथि म प्रमाणसहित बोल्न सक्छु,” शेर्पाले भने ।

शेर्पाको आरोप छ कि महाधिवेशन प्रतिनिधिहरूको दस्तखतसमेत विधिवत् रूपमा भेरिफिकेसन नगरिकन निर्वाचन आयोगले मान्यता दिएको छ, जुन लोकतान्त्रिक अभ्यास र पार्टी विधानविपरीत हो। उनले प्रश्न गर्दै भने, “कांग्रेस केन्द्रीय समितिले नबोलाएको विशेष महाधिवेशन दुई जना महामन्त्रीले बोलाउन पाउने व्यवस्था नेपाली कांग्रेसको विधानको कुन धारामा छ ? यदि छ भने सार्वजनिक रूपमा देखाइयोस्।” “यस्तो अवैधानिक प्रक्रियाबाट बनेको हालको समितिलाई हामी स्वीकार गर्दैनौँ,” उनले स्पष्ट पारे। उनले यही गलत समितिले बाँडेको टिकटबाट उम्मेदवार बनेकाहरू नैतिक रूपमा वैध नहुने दाबी गर्दै भने, “यस्ता उम्मेदवारका लागि भोट माग्नुपर्ने कुनै बाध्यता छैन । हाम्रो संघर्ष कुनै व्यक्तिविरुद्ध होइन, गलत प्रवृत्तिविरुद्ध हो।” “यो आवाज पार्टी बिगार्न होइन, पार्टी बचाउनका लागि हो,” शेर्पाले भने, “सच्चा कांग्रेस संविधान, विधान र सिद्धान्तको पक्षमा उभिन्छ। गलत तरिकाले कब्जा गरिएको पार्टी संरचनालाई स्वीकार गर्न सकिँदैन।”

कांग्रेसका संस्थापकहरूको आदर्श र सिद्धान्तमा विश्वास राख्ने नेताहरूले यस्तो प्रक्रियाबाट आएको टिकट लिनु नै हुँदैन थियो, त्यहीँ ठूलो भूल भएको उनको टिप्पणी छ। साथै, महाधिवेशन गरेर पनि चुनाव नलड्ने नेताहरूले पार्टीप्रति गैरजिम्मेवार व्यवहार देखाएको आरोप पनि उनले लगाए । अन्त्यमा उनले सबै कांग्रेसजनलाई सचेत रहन आग्रह गर्दै भने, “गलतलाई अस्वीकार गरौँ — काङ्ग्रेस जोगाऔँ। देशभर गएर सत्यतथ्य बाहिर ल्याउन समेत उनले सबैलाई अग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्