आइसिसी टी-२० विश्वकप क्रिकेटमा नेपाल रहेको समूह ‘सी’ बाट वेस्ट इण्डिजले पहिलो जित निकालेको छ । कोलाकाताको इडेन गार्डेनमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई ३५ रनले पराजित गरेको हो । वेस्ट इण्डिजले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा स्कटल्याण्ड १८.५ ओभरमा अल आउट हुँदै १४७ रनमा समेटियो । स्कटल्याण्डका लागि कप्तान रिची बेरिङ्टनले सर्वाधिक ४२ रन बनाए। उनले २४ बलमा ३ चौका र २ छक्का प्रहार गरे । टम ब्रुसले २८ बलमा ३५ रन बनाउने क्रममा १ चौका र २ छक्का हाने । ओपनर जर्ज मुन्सीले १९ रन बनाउँदा अर्का ओपनर माइकल जोन्स १ रनमा आउट हुन पुगे । ब्रान्डन मिकमुलेनले १४, मार्क वाटले १५ र म्याथ्यू क्रुसले ११ रन जोडे । बलिङतर्फ वेस्ट इण्डिजका रोमारियो शेफर्डले ५ विकेट लिए। जेसन होल्डरले ३ तथा शमर जोशेफ र गुडकेश मोटिइले एक/एक विकेट लिए ।
यसअघि स्कटल्याण्डले टस जितेपछि ब्याटिङ गरेको वेस्ट इण्डिजले ५ विकेट गुमाएर १८२ रन बनाएको थियो । वेस्ट इण्डिजका लागि शिम्रोन हेटमायरले ३६ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६४ रन बनाए । त्यस्तै ओपनर ब्रान्डन किङले ३० बलमा ४ चौका र १ छक्का प्रहार गरी ३५ रन जोडे । सरफेन रथरफोर्डले १३ बलमा २६ रन, रोवमन पवेलले १४ बलमा २४ रनको योगदान गरे। कप्तान शाई होपले १९ रन जोडे । बलिङतर्फ स्कटल्याण्डका ब्राड क्युरीले २ तथा सफयान शरिफ, ओलिबर डेविडसन र माइकल लिस्कले एक/एक विकेट लिए । समूह ‘सी’ मा इंग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली, नेपाल र स्कटल्याण्ड रहेका छन् ।
नेपालले आइतबार इंग्ल्याण्डसँग, इटालीसँग माघ २९ गते, फागुन ३ गते वेस्ट इण्डिजसँग र स्कटल्याण्डसँग फागुन ५ गते खेल्नेछ ।





प्रतिक्रिया दिनुहोस्