काठमाडौं – अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनामा हुने १०औँ अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको टाइसिट आज सार्वजनिक गरिएको छ। प्रतियोगिता फागुन १ गतेदेखि सुरु हुनेछ । हरेक वर्ष आयोजना हुँदै आएको अर्किड कपको यो १०औँ संस्करण हो। प्रतियोगितामा कक्षा ७ सम्म अध्ययनरत तथा १३ वर्ष उमेर ननाघेका अर्थात २०६९ साल माघ २६ गते पछि जन्मिएका विद्यार्थीहरूले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । फागुन १ देखि १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताका सबै खेलहरू काठमाडौंको गोठाटारस्थित आयोजक अर्किड प्युपल सेकेन्डरी स्कुलको आफ्नै मैदानमा हुनेछन् । प्रतियोगितामा जम्मा ४६ वटा विद्यालयको सहभागिता रहने जानकारी आयोजकले दिएको छ ।
प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टिमले क्रमशः ४० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै विभिन्न व्यक्तिगत विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि पुरस्कृत गरिनेछ । अर्किड प्युपल सेकेन्डरी स्कुलका संस्थापक प्रेमकुमार भुजेलले शिक्षासँगै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको चौतर्फी विकास गर्न विद्यालयले नियमित रूपमा खेलकुद तथा अन्य गतिविधि आयोजना गर्दै आएको बताए । अर्किड कप त्यही निरन्तरता भएको उनको भनाइ छ ।







प्रतिक्रिया दिनुहोस्