मुम्बई – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा नेपालले दिएको १२४ रनको लक्ष्य इटलीले १२.४ ओभरमै विकेट नगुमाई पूरा गर्दै ऐतिहासिक जित दर्ता गर्यो ।
टी–२० विश्वकप इतिहासमा नेपाल पहिलो पटक १० विकेटले पराजित भएको हो । लगातार दोस्रो हारसँगै नेपालको सुपर एट पुग्ने सम्भावना कमजोर बनेको छ । यसअघि पहिलो खेलमा नेपाल दुई पटकको विश्वकप विजेता इंग्ल्याण्डसँग ४ रनले पराजित भएको थियो ।
मोस्का दाजुभाइको शतकिय साझेदारी
इटलीका एन्थोनी मोस्का र जस्टिन मोस्काले आक्रामक ब्याटिङ गर्दै शतकिय साझेदारी गरे । पावर प्लेमै ६ ओभरमा ६८ रन जोड्दै उनीहरूले जितको आधार तयार पारेका थिए ।
दुवैले ११औं ओभरमा अर्धशतक पूरा गरे । सन्दीप लामिछानेको बलमा जस्टिनले सिंगल लिएर अर्धशतक बनाउँदा अर्को बलमा एन्थोनीले छक्का प्रहार गर्दै ५० रन पूरा गरेका थिए । उनीहरूको अविजित साझेदारीले नेपाललाई पूर्ण रूपमा दबाबमा राख्यो ।
स्कटल्याण्डसँग पहिलो खेल हारेको इटलीले यस जितसँगै विश्वकपमा आफ्नो पहिलो जित हात पारेको छ । यस संस्करणमा डेब्यु गरेको इटलीले दोस्रो खेलमै ऐतिहासिक सफलता पाएको हो ।
नेपालको ब्याटिङ फितलो
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १२३ रनमा अलआउट भयो । इटलीका स्पीनरहरूको उत्कृष्ट बलिङ सामु नेपाली ब्याटर संघर्षरत देखिए र पूरा २० ओभर टिक्न सकेनन् ।
आरिफ शेखले सर्वाधिक २७ रन बनाए । कप्तान रोहित पौडेलले १४ बलमा २ छक्का सहित २३ रन जोडे भने आसिफ शेखले २० रन बनाए । करण केसी ११ बलमा १८ रन जोड्दै अविजित रहे । उपकप्तान दीपेन्द्र सिंह ऐरीले १७ रन बनाए ।
ओपनर कुशल भुर्तेल ५ रनमै आउट हुँदा नेपालको सुरुआत कमजोर बन्यो । लोकेश बम पनि ३ रनमै पभेलियन फर्किए । रोहित र आसिफले दोस्रो विकेटका लागि ४१ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे पनि दुवै ४९ रनको स्कोरमा आउट भएपछि नेपाल पुनः दबाबमा पर्यो ।
दीपेन्द्र र आरिफले चौथो विकेटका लागि ४४ रनको साझेदारी गरे पनि ठूलो स्कोरतर्फ लैजान सकेनन् । मध्यक्रम र तल्लो क्रम चल्न नसक्दा नेपाल मध्यम लक्ष्यमा सीमित भयो ।
इटलीका स्पीनर हावी
इटलीका स्पीनरहरूले ६ विकेट लिए । लेगस्पीनर क्रिसन कालुगमागेले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । अफस्पीनर बेन्जामिन मानेन्टीले ४ ओभरमा ९ रन मात्र दिएर २ विकेट लिए । जेजे स्मट्सले १ विकेट लिए ।
पेस बलर अली हसन र जसप्रित अलीले समान १–१ विकेट लिए भने एक नेपाली खेलाडी रनआउट भए ।
नियमित कप्तान वायन म्याडसन घाइते भएपछि इटलीको कप्तानी ह्यारी मानेन्टीले सम्हालेका थिए ।
लगातार दुई हारसँगै नेपाल अंकविहीन रहँदा अब सुपर एटको यात्रा कठिन बनेको छ । आगामी खेलमा जित निकाल्न नसके नेपाल समूह चरणबाटै बाहिरिने खतरा बढेको छ ।





प्रतिक्रिया दिनुहोस्