काठमाडौँ – नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) को ११औँ महाधिवेशन चैत ५ र ६ गते काठमाडौँमा आयोजना हुने भएको छ। महासङ्घका अध्यक्ष तथा महाधिवेशन आयोजक समितिका संयोजक गेल्जे लामा शेर्पाका अनुसार यसअघि माघ ९ र १० गते विराटनगरमा गर्ने तय भएको महाधिवेशन निर्वाचन आचारसंहिताका कारण स्थगित गरिएको थियो।
महाधिवेशनको उद्घाटन रामचन्द्र पौडेलले चैत ५ गते गर्ने कार्यक्रम रहेको छ। उद्घाटन समारोह नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा दिउँसो १ बजे सुरु हुनेछ। त्यसअघि विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितको प्रदर्शन भृकुटीमण्डप, भद्रकाली, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, जमल र घण्टाघर हुँदै कमलादीस्थित प्रज्ञा प्रतिष्ठानसम्म पुग्नेछ। महाधिवेशनमा ५६ वटा जातीय संस्थाबाट चार–चार जना, सचिवालयका २१ जना, १२ सम्बन्धन सङ्गठन, २४ प्रवास सङ्गठन, प्रदेशबाट तीन–तीन जना र ७७ जिल्लाबाट दुई–दुई जना प्रतिनिधि सहभागी हुने व्यवस्था गरिएको छ।
अध्यक्ष शेर्पाले देशमा करिब ३५.३६ प्रतिशत आदिवासी जनजातिको जनसङ्ख्या रहेको उल्लेख गर्दै उनीहरूका मुद्दा उठाउन महाधिवेशन महत्वपूर्ण हुने बताउनुभयो। महाधिवेशनका लागि करिब २५ देखि ३० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। महासङ्घका महासचिव दिवस राईका अनुसार महाधिवेशनको तयारीका लागि १३ वटा उपसमिति गठन गरिएको छ। प्रतिनिधि व्यवस्थापन उपसमितिको संयोजक बुद्ध घर्ती, प्रचारप्रसार उपसमितिको संयोजक महासचिव राई, खाद्य तथा आवास व्यवस्थापन उपसमितिको संयोजक युवराज जिरेल, आर्थिक व्यवस्थापन उपसमितिको संयोजक विमल सारु मगर, तथा लजिस्टिक व्यवस्थापन उपसमितिको संयोजक लाक्पा ढोक्प्यालाई तोकिएको छ।
त्यसैगरी सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिको संयोजक जिमी लामा, अतिथि सत्कार तथा व्यवस्थापन उपसमितिको संयोजक श्रुती कुमाल र प्रतिनिधि कार्ड, ब्याच, ब्यानर तथा पोस्टर तयारी उपसमितिको संयोजक गोविन्द लामा ह्योल्मो रहेका छन्। महाधिवेशनको बन्दसत्र चैत ६ गते स्वयम्भूमा हुनेछ। बन्दसत्रले अध्यक्षसहित २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। अध्यक्ष शेर्पाका अनुसार नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने प्रयास गरिनेछ। सर्वसम्मति नभएमा महासङ्घको विधानअनुसार लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरिनेछ। महासङ्घमा आबद्ध ५६ जातीय संस्थाका प्रतिनिधिमध्ये ५६ जनाले मात्र मतदान गर्न पाउने व्यवस्था रहेको छ।





प्रतिक्रिया दिनुहोस्