जुम्ला – जुम्लाबाट बिरामी लिएर नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् । जुम्लाको हिमा गाउँपालिकाको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिका–२ स्थित मेयरखोला नजिकै सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी हिमा गाउँपालिका–६ पातरखोलाका ३२ वर्षीय भीमबहादुर अधिकारी र हिमा–७ मर्चीगाउँका २६ वर्षीय एम्बुलेन्स चालक शक्तिबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि ७१ वर्षीय बुबा कलबहादुर अधिकारीलाई नेपालगञ्ज लैजाने क्रममा छोरा भीमबहादुरको सोही दुर्घटनामा मृत्यु भएको हो । दुर्घटनामा बिरामी कलबहादुर अधिकारी र हिमा–७ का २० वर्षीय लोकेन्द्र शाही घाइते छन् । कलबहादुरको खुट्टामा चोट लागेको छ भने लोकेन्द्रको कान र पेटमा सामान्य चोट लागेको छ । घाइते दुवै जनाको हाल कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार सडकमा लागेको बाक्लो हुस्सुका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्