मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले शिक्षाको विकास र गुणस्तर सुधार नै समृद्धिको मुख्य आधार भएको बताएका छन् । मकवानपुरको बकैया गाउँपालिका वडा नं. १० स्थित श्री प्रशिद्ध माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । मुख्यमन्त्री बानियाँले दुर्गम क्षेत्रका विद्यार्थीलाई प्रविधिमैत्री र गुणस्तरीय शिक्षा उपलब्ध गराउन प्रदेश सरकारले भौतिक पूर्वाधार विकास र शैक्षिक सुधारका लागि विशेष बजेटको व्यवस्था गर्ने आश्वासन दिए। विद्यालयको स्वर्ण जयन्तीलाई गौरवको विषय भएको उल्लेख गर्दै उनले यस क्षेत्रको शैक्षिक उन्नतिमा संस्थापक तथा स्थानीय समुदायले पुर्याएको योगदानको प्रशंसा गरे ।
त्यस्तै, बकैया क्षेत्रको प्रमुख समस्याका रूपमा रहेको बागमती नदी तथा स्थानीय खहरे खोलाबाट हुने कटान नियन्त्रणमा सरकार गम्भीर रहेको उनले बताए। तटबन्ध निर्माणमार्फत बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गर्न व्यवस्थित योजनासहित बजेट विनियोजन गरिने उनले स्पष्ट पारे । स्थानीय तहको विकास र नागरिकको जीवनस्तर सुधारका लागि प्रदेश सरकार स्थानीय सरकारसँग सहकार्य गर्दै अघि बढ्ने उनको भनाइ थियो।





प्रतिक्रिया दिनुहोस्