Skip to content

सरकारलाई शान्ता चौधरीको प्रश्न : “जग्गा सरकारको रहेछ, जनता चाहिँ कस्को रहेछ ?”

काठमाडौं – पूर्वसभासद् तथा एमाले नेतृ शान्ता चौधरीले सुकुम्बासी बस्ती हटाउने क्रममा प्रयोग भइरहेको डोजर अभियानप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै चौधरीले “जग्गा सरकारको रहेछ, जनता चाहिँ कस्को रहेछ ?” भन्दै प्रश्न उठाएकी हुन् । उनले वर्षौंदेखि नदी किनार तथा सार्वजनिक जमिनमा बसोबास गर्दै आएका विपन्न नागरिकमाथि डोजर चलाउँदा उनीहरूको जीवन, शिक्षा र भविष्यबारे सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् ।

उनले व्यवस्थापनको स्पष्ट योजना बिना बस्ती हटाउँदा सर्वसाधारण नागरिक झन् समस्यामा पर्ने उल्लेख गर्दै मानविय संवेदनशीलता अपनाउन आग्रह गरेकी छन् । “गरिबको घरमा डोजर चलाउनु अघि उनीहरूको वैकल्पिक व्यवस्थापन र बालबालिकाको शिक्षाबारे सोच्नुपर्छ,” उनको भनाइ छ । हाल काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्य जारी छ । सरकारी निकायले सार्वजनिक जग्गा संरक्षणका लागि अभियान चलाएको बताए पनि स्थानीयवासी र अधिकारकर्मीहरूले उचित पुनःस्थापना बिना गरिएको हटाउने कार्य अमानवीय भएको टिप्पणी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्