काठमाडौँ – डा. सुरेन्द्र भट्टले नेतृत्व गरेको भक्तपुर अस्पताल देशभरीकै उत्कृष्ट अस्पताल घोषण भएको छ । न्युनतम सेवा मापदण्डमा देशभरीका बी लेभल १०० देखि ३०० शैया सम्मका अस्पतालहरुमा भक्तपुर देशभरकीकै उत्कृष्ट भएको अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले जानकारी दिए । उनका अनु्सार गत वर्ष अस्पतालले ९० अंक ल्याएर देशभरीमै उत्कृष्ट भएको थियो भने यस वर्ष ३ अंक सुधार गर्दै ९३ अंक ल्याएर देशभरीकै उत्कृष्ट भएको हो ।
बिहीबार अस्पतालमा आयोजित न्युनतम सेवा मापदण्ड तथा क्लिनिकल अडिटको समिक्षा कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालय बागमतीका निर्देशक डा. नरेन्द्र कुमार झा ले अस्पतालका कर्मचारीहरुको लगनशीलता र मेहनतले भक्तपुर अस्पताल उत्कृष्ट भएको बताए । उनले आगामी दिनहरुमा अस्पतालले शत प्रतिशत अंक ल्याउन प्रयास गर्नुपर्ने बताए ।
यस्तै कार्यक्रममा बोल्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले अस्पताललाई विशिष्टकृत गर्दै लगिने बताए । अस्पतालमा न्युरो सर्जरीको लागि स्तोरन्नती गर्न प्रयासरत रहेको बताए ।
न्युनतम सेवा मापदण्ड तथा क्लिनिकल अडिटका संयोजक समेत रहेका धादिङ अस्पतालका निर्देशक त्रिभुवनचन्द्र झा ले कार्यक्रममा न्युनतम सेवा मापदण्ड तथा क्लिनिकल अडिटका बारेमा प्रस्तुतिकरण गरेका थिए । अस्तालले क्लिनिकल अडिटमा ७६.४ अंक पाएको छ । अस्पतालको तर्फबाट प्रस्तुती दिदै निर्देशक डा. भट्टले कार्यसम्पादनमा देखापरेका समस्याहरु औल्याउनुभएको थियो । उहाँका अनुसार जग्गाको स्वामित्व, सेवा सुविधाको कमिले चिकित्सक नआउने गरेको, पुरानो र जीर्ण संरचनामा काम गरिराख्नु पर्ने पार्किङको समस्या, बीमा दाबी भुक्तानीमा ढिलासुस्ती जस्ता समस्याहरुले सेवा प्रवाहमा कठिनाइ भइरहेको छ ।
‘श्री चन्द्रलोक डिस्पेन्सरी’को नामबाट स्वास्थ्य सेवा सुरु गरेको नेपालकै दोस्रो पुरानो अस्पतालका रुपमा रहके भक्तपुर अस्पतालले जनताको सेवा गर्दै लगातार देशकै उत्कृष्ट अस्पताल बन्दै आएको छ ।





प्रतिक्रिया दिनुहोस्