Skip to content

सनराइजर्स हैदराबादलाई पराजित गर्दै राजस्थान रोयल्स आईपीएलको क्वालिफायर–२ मा

काडमाडौँ – सनराइजर्स हैदराबादलाई पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को क्वालिफायर–२ मा स्थान बनाएको छ । न्यु चण्डीगढमा बुधबार राति भएको एलिमिनेटर खेलमा राजस्थानले सनराइजर्स हैदराबादलाई ४७ रनले हराएकाे हाे । राजस्थानले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याएको हैदराबाद १९.२ ओभरमा १‌ सय ९६ रनमै अलआउट भयो । हैदराबादका लागि नितिश रेड्डीले ३८, सलिल अरोराले ३५ तथा इशान किशनले ३३ रन बनाए । अन्य ब्याटरकाे प्रदर्शन राम्राे हुन सकेन ।

राजस्थानका लागि जोफ्रा आर्चरले ३ विकेट लिए । यस्तै, नान्द्रे बर्गर, सुशान्त मिश्रा र रविन्द्र जडेजाले २-२ तथा यश राज पुन्जाले १ विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको थियो ।

वैभव सूर्यवंशीले आक्रामक ब्याटिङ गर्दै २९ बलमा ९७ रन बनाए । उनले १२ छक्का र ५ चौका प्रहार गर्दै हैदराबादका बलरमाथि दबाब बनाए । ध्रुव जुरेलले २१ बलमा अर्धशतक प्रहार गर्दै टोलीलाई विशाल स्कोरसम्म पुर्‍याए । हैदराबादका लागि प्रफुल हिंगेले ३ विकेट लिँदा इशान मालिंगा, शिवांग कुमार र नितिश रेड्डीले १-१ विकेट लिए । राजस्थानले अब फाइनल प्रवेशका लागि गुजरात टाइटन्सकाे सामना गर्नेछ । हैदराबाद भने प्रतियाेगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्