भक्तपुर – भक्तपुर र काभ्रेका जनप्रतिनिधिहरूको टोलीले रानिकोट क्षेत्रको पर्यटन सम्भावना, स्थानीय समस्या र विकासका आवश्यकताबारे जानकारी लिन स्थलगत भ्रमण गरेको छ। होटल तथा पर्यटन व्यवसायी तथा समाजसेवी राम सुन्दर बेकेलगायत स्थानीय अगुवाहरूको पहलमा उक्त भ्रमण आयोजना गरिएको हो।
भ्रमणका क्रममा स्थानीय अगुवाहरूले रानिकोटको भौगोलिक अवस्था, ग्रामीण बस्तीका समस्या, कृषि, पर्यटन, सडक, खानेपानी तथा अन्य पूर्वाधार विकासका आवश्यकताबारे जनप्रतिनिधिहरूलाई जानकारी गराएका थिए। उनीहरूले विशेषगरी ग्रामीण सडक निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकतामा राख्दै विकास निर्माणका योजना अघि बढाउन आग्रह गरेका छन्।
स्थानीयका अनुसार सडक पूर्वाधार सुधार भए कृषि उत्पादनको बजारीकरण सहज हुने, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र स्थानीयको दैनिक जनजीवन थप सहज बन्नेछ। रानिकोटमा प्रत्येक शनिबार सञ्चालन हुँदै आएको किसान हातबजारले गाउँमै कृषि उत्पादनको बिक्री–वितरणलाई सहज बनाएको छ। यसबाट बिचौलियाको प्रभाव घट्नुका साथै किसानले आफ्ना उत्पादनको उचित मूल्य पाउन थालेको स्थानीयहरूको भनाइ छ।
आन्तरिक पर्यटन विस्तारसँगै रानिकोटमा साना–ठूला होटल तथा होमस्टे सञ्चालन हुने क्रम बढ्दै गएको छ भने धेरै स्थानीय होमस्टे सञ्चालनको तयारीमा छन्। आवश्यक पूर्वाधार निर्माण, सडक सञ्जाल विस्तार र प्रभावकारी प्रचार–प्रसार गर्न सके रानिकोट निकट भविष्यमा ग्रामीण पर्यटनको आकर्षक गन्तव्य बन्न सक्ने विश्वास स्थानीयले व्यक्त गरेका छन्। होटल तथा पर्यटन व्यवसायी एवं समाजसेवी राम सुन्दर बेकेले स्थानीय सरकार, जनप्रतिनिधि, व्यवसायी र समुदायबीच सहकार्य गर्दै ‘मेरो सीप, मेरो गाउँ’ जस्ता अभियान सञ्चालन गर्न सके गाउँमै रोजगारी सिर्जना हुने, युवाको वैदेशिक पलायन घट्ने र स्थानीय अर्थतन्त्र सुदृढ हुने बताए।
भ्रमणमा सहभागी जनप्रतिनिधिहरूलाई भिलेज हाईल्याण्ड रिसोर्टमा स्वागत तथा सम्मान गरिएको थियो। कार्यक्रममा रानिकोटलाई ग्रामीण पर्यटनको नमुना गन्तव्यका रूपमा विकास गर्न स्थानीय पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, कृषि उत्पादनको बजारीकरण र सबै पक्षबीचको सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइयो। स्थानीयवासीले जनप्रतिनिधिहरूले स्थलगत रूपमा जनताको आवाज सुनेर विकास निर्माणका योजनालाई प्राथमिकताका साथ अघि बढाउने विश्वास व्यक्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस्