Skip to content

सरकारमा सहभागी नहुने राप्रपा बागमती संसदीय दलको निर्णय

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले सरकारमा सहभागी नहुने निर्णय गरेको छ । नेकपा एमाले र नेकपाले नयाँ सरकार गठन गर्न राप्रपासँग सहयोग मागेका थिए । तर राप्रपाले पार्टी सरकारमा सामेल नहुने निर्णय गरेको छ । वर्तमान राजनीतिक परिस्थितिमा प्रदेश सरकारको सत्ता समीकरणको गणितीय चलखेलमा सामेल नहुने बिहीबार बेलुकी बसेको बैठकले निर्णय गरेको हो ।

संसदीय दलको बैठकमा राप्रपाका १२ जना सांसदहरू सहभागी थिए । उनीहरूले सरकारमा सामेल नहुने संसदीय दलको निर्णयमा हस्ताक्षर गरेका छन् । राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले पनि प्रदेशहरूमा पार्टी सरकारमा सामेल नहुने निर्णय गरेको थियो । सोही निर्णयलाई बागमती संसदीय दलले पनि निरन्तरता दिएको प्रवक्ता मोहन श्रेष्ठले बताए । बागमतीमा नयाँ सरकार बनाउन बहुमत जुटाउन नेकपा एमाले र नेकपालाई दुईजना सांसदको आवश्यकता पर्छ। राप्रपा सरकारमा सामेल नहुने भएपछि नेकपा एमाले र नेकपालाई नयाँ सरकार बनाउन थप असहज भएको छ ।

बागमतीमा नेपाली कांग्रेस संसदीय दल नेता इन्द्रबहादुर बानियाँ नेतृत्वमा सरकार छ । यसअघिको सत्ता साझेदार एमालेले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता गरिसकेको छ। मुख्यमन्त्री बानियाँले विश्वासको मत लिनुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्