Skip to content

अर्किड आइडल नृत्य प्रतियोगिता सुरु, ९६ प्रतियोगीको उत्साहजनक सहभागिता !

काठमाडौं – अर्किड आइडल नृत्य प्रतियोगिताको १३औँ संस्करण सुरु भएको छ । काठमाडौँको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलको प्रांगणमा शुक्रबार देखि अर्किड आइडल नृत्य प्रतियोगिताको १३औँ संस्करण सुरु  भएको हो । प्रतियोगिताको छनौट चरणमा ९६ जना प्रतियोगीले उत्साह, ऊर्जा र उत्कृष्ट नृत्य प्रस्तुतिका साथ सहभागिता जनाएका छन् । प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिने प्रतियोगीमध्येबाट एक चरण अगाडि बढ्दै सेमिफाइनलमा प्रवेश गर्ने प्रतियोगी छनोट भएका छन् ।

विद्यालयका सञ्चालक प्रेमकुमार भुजेलले विद्यार्थीभित्र लुकेर रहेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले भने, “विद्यार्थीको प्रतिभा कक्षाकोठामा मात्र सीमित हुँदैन। यस्ता कार्यक्रमले उनीहरूको आत्मविश्वास, सिर्जनशीलता र नेतृत्व क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्छ।” त्यस्तै, विद्यालयका प्रिन्सिपल चोलेन्द्रबहादुर कार्कीले प्रतियोगितामा सहभागी विद्यार्थीहरूको उत्साह र प्रस्तुतिले आफूहरूलाई उत्साहित बनाएको बताए। उनले भने, “९६ जना विद्यार्थीले देखाएको उत्साह र प्रतिभा आफैंमा प्रशंसनीय छ। सेमिफाइनलमा पुगेका विद्यार्थीले अझ उत्कृष्ट प्रस्तुति दिने अपेक्षा गरेका छौँ।”

विद्यालय संयोजक नरेन्द्रप्रसाद पाण्डेयले प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउन विद्यालय परिवारले निरन्तर मेहनत गरिरहेको बताए । उनका अनुसार छनौट चरणमा विद्यार्थीहरूले प्रस्तुत गरेको प्रतिभाले प्रतियोगिताको आगामी चरण अझ रोमाञ्चक हुने देखाएको छ । विद्यालयका अनुसार प्रतियोगिताको सेमिफाइनल भदौ ९ गते र फाइनल भदौ १६ गते आयोजना हुनेछ । प्रतियोगितामार्फत विद्यार्थीमा रहेको नृत्य प्रतिभा पहिचान, प्रस्फुटन र विकास गर्ने उद्देश्य राखिएको विद्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्