काठमाडौँ – रसुवामा आएको भीषण बाढीका कारण जनजीवनसँगै व्यापारिक तथा आवागमन गतिविधिमा समेत असर परेको अवस्थामा नेपाल व्यापार संघले आकस्मिक सचिवालय बैठक बोलाएको छ । संघकी सचिव सुशीला चौलागाईंका अनुसार बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल गर्दै व्यापार व्यवसायमा परेको असर तथा आगामी कदमका विषयमा महत्वपूर्ण निर्णय गर्नुपर्ने भएकाले बैठक बोलाइएको हो । बैठक आज २०८३ साल भदौ १० गते बुधबार दिउँसो ३ बजे संघको कार्यालयमा बस्नेछ। बैठकमा संघका सम्पूर्ण पदाधिकारीहरूलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ । रसुवा नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाकाका रूपमा रहेको छ। रसुवागढी नाका हुँदै चीनसँगको आयात–निर्यात तथा सीमापार व्यापार सञ्चालन हुने भएकाले बाढी तथा प्राकृतिक विपद्का कारण त्यहाँको सडक, यातायात र व्यापारिक गतिविधिमा परेको प्रभावले व्यवसायीहरूमा समेत चिन्ता बढाएको छ ।
यही परिस्थितिलाई मध्यनजर गर्दै संघले आकस्मिक बैठकमार्फत रसुवाको बाढीबाट व्यापार तथा आपूर्ति व्यवस्थामा परेको असर, व्यवसायीका समस्या र तत्काल चाल्नुपर्ने कदमबारे छलफल गरी आवश्यक निर्णय गर्ने तयारी गरेको छ । सचिव चौलागाईंले संघका सबै पदाधिकारीलाई बैठकमा अनिवार्य उपस्थित भई परिस्थितिअनुसार आवश्यक निर्णय लिन सहयोग गर्न अनुरोध गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस्