Skip to content

रसुवा, नुवाकोट र धादिङमा तत्काल उद्धार गर्न सांसद थपलियाको माग

काठमाडौं – नेपाली कांग्रेसकी सांसद सीता थपलिया उर्मिलाले रसुवा, नुवाकोट र धादिङमा बाढीका कारण उत्पन्न विपद्को अवस्थालाई गम्भीर रूपमा लिँदै तत्काल उद्धार कार्य तीव्र बनाउन सरकारसँग माग गरेकी छन् । बुधबार बसेको संसद् बैठकमा बोल्दै सांसद थपलियाले रसुवागढीबाट आएको बाढीले रसुवा, नुवाकोट हुँदै धादिङका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको बताइन्। उनका अनुसार धादिङमा त्रिशूली नदीमाथिका अधिकांश पक्की पुल बगाउनुका साथै नदी तटीय क्षेत्रका घरहरूमा समेत ठूलो क्षति पुगेको छ।

उनले हालसम्म धादिङ क्षेत्रमा ठूलो मानवीय क्षतिको विवरण नआए पनि विपद्को अवस्था अत्यन्तै गम्भीर रहेको बताइन् । उद्धारका लागि सुरक्षाकर्मी तथा प्रशासनको उपस्थिति पर्याप्त नभएको भन्दै उनले नेपाली सेना, प्रहरी र प्रशासनको जनशक्ति तत्काल थप परिचालन गर्न सरकारसँग आग्रह गरिन् । ‘अहिले राहतभन्दा पनि पहिलो प्राथमिकता मानव उद्धार हुनुपर्छ,’ सांसद थपलियाले भनिन्, ‘विभिन्न ठाउँमा मानिसहरू उद्धारका लागि हारगुहार गरिरहेका छन् । हेलिकप्टर पठाइए पनि कतिपय स्थानमा अवतरण गर्न नसक्दा उद्धार कार्य प्रभावकारी हुन सकेको छैन।’

उनले विपद् प्रभावित क्षेत्रमा तत्काल थप हेलिकप्टर परिचालन गरी जोखिममा रहेका नागरिकको उद्धार गर्न र त्यसपछि मात्रै राहतका प्याकेज पुर्‍याउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन्। साथै, उनले सरकारले तत्काल राष्ट्रिय विपद्को अवस्था घोषणा गरी उद्धार तथा राहत कार्यलाई तीव्रता दिनुपर्ने माग गरिन् ।

सांसद थपलियाले प्रधानमन्त्रीले विपद् प्रभावित क्षेत्रका सांसदहरूसँग छलफल गर्दै केही हेलिकप्टर उद्धारका लागि परिचालन गरिएको जानकारी दिएको पनि संसद्लाई बताइन्। गृह मन्त्रालयसँग समेत निरन्तर समन्वय भइरहेको उल्लेख गर्दै उनले उपलब्ध सबै स्रोतसाधन परिचालन गरेर नागरिकको जीवन रक्षा गर्नुपर्नेमा जोड दिइन् । यसैबीच, धादिङबाट गोसाइँकुण्डतर्फ गएको एउटा बस बेत्रावतीसम्म पुगेपछि सम्पर्कविहीन भएको जानकारी आएको उनले बताइन्। उनका अनुसार उक्त बस बिहान ९ः१५ बजे बेत्रावती पुगेको जानकारी आए पनि त्यसपछि सम्पर्कमा आएको छैन। उनले रसुवा तथा नुवाकोट क्षेत्रमा उक्त बस देखेमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराइदिन समेत आग्रह गरिन्। ‘नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व हो,’ उनले भनिन्, ‘यो विपद्को घडीमा हामी सबै एकजुट भएर उद्धार तथा विपद् व्यवस्थापनमा लाग्नुपर्छ।’

बाढी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। सांसद थपलियाले विपद्को अवस्था थप गम्भीर बन्न नदिन उद्धार, खोजी तथा राहत कार्यलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग आग्रह गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्