काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीति, कर्मचारीतन्त्र तथा राज्यका विभिन्न निकायहरू अन्योलपूर्ण अवस्थामा रहेको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारका राम्रा काममा सहयोग र समर्थन गर्ने तथा गलत कामको विरोध र आलोचना गर्ने आफ्नो नीति रहेको स्पष्ट पारे । पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण गर्दै उनले राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र, नागरिक समाज तथा सचेत नागरिकहरू राष्ट्र र जनताप्रति थप गम्भीर र जिम्मेवार हुनुपर्ने बताए ।
‘अहिले कता–कता नेपाली राजनीति पनि, नेपाली कर्मचारीतन्त्र पनि र सबै राज्यका निकायहरू अलि बढी अन्योलमा भएको देखिन्छ,’ प्रचण्डले भने, ‘शुरुदेखि हामीले भनेका छौँ, राम्रो गर्नुस् सहयोग हुन्छ, समर्थन हुन्छ । नराम्रो गर्दा आलोचना हुन्छ, टिप्पणी हुन्छ, विरोध हुन्छ । हरेक क्षेत्रमा हामीले त्यही भन्दै आएका छौँ, अहिले पनि हाम्रो त्यही भनाइ रहिआएको छ । तर लक्षण राम्रो देखिएको छैन ।’ उनले मुलुकको स्वतन्त्रता, स्वाधीनता र भौगोलिक अखण्डतालाई सर्वोपरी राखेर राजनीतिक नेतृत्वदेखि नागरिक समाजसम्म सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । लामो संघर्षबाट प्राप्त लोकतन्त्र र स्वतन्त्रताको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो । ‘राजनीतिक नेतृत्वले, कर्मचारीहरूले, नागरिक समाजले, सबै समाजका सचेत नागरिकहरूले राष्ट्रप्रति, जनताप्रति, आफ्नो स्वतन्त्रता र स्वाधीनताप्रति अझ गम्भीर, अझ जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता छ,’ उनले भने । प्रचण्डले राष्ट्रको स्वाधीनता, देशको अखण्डता तथा संघर्षबाट प्राप्त लोकतन्त्र र स्वतन्त्रताको रक्षालाई सबैको प्राथमिकतामा राख्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्