धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोका कारण प्रभावित तथा विस्थापित परिवारको राहत, पुनर्स्थापना र जोखिम न्यूनीकरणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पहिरोका कारण विस्थापित परिवारको राहत तथा पुनर्स्थापना र पहिरो जाने क्रम नरोकिएपछि जोखिम न्यूनीकरणका लागि आवश्यक सहयोग माग गर्दै अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहरा र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीसहितको टोलीले मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै सुरक्षित पुनर्स्थापनाका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग गरिने बताए । पहिरोका कारण उत्पन्न जोखिम न्यूनीकरणका लागि प्रदेश सरकारले गर्न सक्ने आवश्यक पहल तथा सहयोगमा कुनै कमी हुन नदिने उनको भनाइ थियो ।
चौलानी नदीमा समेत जोखिम
भट्टार क्षेत्रमा पहिरो जाने क्रम जारी रहँदा चौलानी नदीसमेत प्रभावित भएको छ । पहिरोका कारण नदी आंशिक रूपमा थुनिएपछि नदी तटीय क्षेत्रका बस्तीमा जोखिम बढेको जनाइएको छ । स्थानीय प्रशासनले समेत सम्भावित जोखिमलाई मध्यनजर गर्दै तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । गाउँपालिका अध्यक्षद्वयको टोलीले पहिरोका कारण विस्थापित परिवारलाई तत्काल राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्नुपर्ने भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको थियो । पहिरो पूर्ण रूपमा रोकिएको अवस्था नरहेकाले चौलानी नदी किनारका बस्तीमा जोखिम कायमै रहेको जानकारी गराउँदै प्रभावित नागरिकको सुरक्षा, जोखिम न्यूनीकरण तथा आवश्यक पूर्वाधार संरक्षणका लागि तत्काल प्रदेश सरकारको सहयोग आवश्यक रहेको उनीहरूले बताएका थिए ।
सुरक्षित स्थानमा सारिए पहिरो प्रभावित
यसअघि पहिरोको जोखिममा रहेका भट्टारका परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो। पहिरो निरन्तर खसिरहेकाले चौलानी नदीको बहावमा पुनः अवरोध आउन सक्ने सम्भावनासमेत रहेको स्थानीयले बताएका छन् । मुख्यमन्त्री भट्टले विपद्का कारण प्रभावित नागरिकको सुरक्षा र राहतलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्