Skip to content

अपि हिमालमा पर्यटन उत्सव हुँदै, पर्यटक दोब्बर पुर्‍याउने लक्ष्य

दार्चुला । अपि हिमाललाई सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित दार्चुलाको अपिहिमाल गाउँपालिकाले कात्तिक १७ देखि १९ गतेसम्म तीनदिने ‘अपि हिमाल पर्यटन उत्सव’ आयोजना गर्ने भएको छ । गाउँपालिका–१ स्थित अपि हिमाल बेसक्याम्पको पिलकन्दमा हुने उत्सवको उद्देश्य पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी सिर्जना र आयआर्जनका अवसर विस्तार गर्नु रहेको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताउनुभयो ।

हाल वार्षिक पाँच हजारभन्दा बढी पर्यटक अपि हिमाल पुग्ने गरेकोमा यस वर्ष उक्त संख्या दोब्बर बनाउँदै १० हजार पुर्‍याउने लक्ष्य गाउँपालिकाले लिएको छ। सरकारले पहिचान गरेका सय पर्यटकीय गन्तव्यमा समेत परेको अपि हिमालको प्रचारप्रसारमा प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेपछि थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाल सरकार र गाउँपालिकाको साझेदारीमा सञ्चालित दिगो पर्यटन परियोजनामार्फत यस क्षेत्रको पर्यटन पूर्वाधार र पदमार्ग विस्तारका काम भइरहेका छन् । निर्माण भएका पूर्वाधारलाई दिगो बनाउँदै रोजगारी र आयआर्जनसँग जोड्नु अबको प्राथमिकता भएको अध्यक्ष बोहराको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्