काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ। मंगलबार भएको खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको हो। कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमा अलआउट भयो। जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए। कप्तान हर्मीत सिंह र मोइन अलीले समान १९ रन जोड्दा जिमी निशमले १५ तथा मायन यादवले १४ रन बनाए। अनिलकुमार शाहले ११ रन जोडे भने अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।
जनकपुरलाई सस्तैमा समेट्ने क्रममा कर्णालीका युनिस ठकुरी र हुसेन तलतले समान ३ विकेट लिए। युनिसले ४ ओभरमा १ मेडन राख्दै ३ विकेट लिए। उनले एउटै ओभरमा जनकपुरका कप्तान हर्मीत सिंह र जिमी निशमलाई आउट गर्दै खेलमा कर्णालीको पकड बलियो बनाएका थिए। नन्दन यादवले २ तथा कप्तान सोमपाल कामीले १ विकेट लिए। त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। कर्णालीका ओपनर अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलमा ४ चौका प्रहार गरे। पवन सर्राफले ३७ रन जोड्दै अरिफुलसँग चौथो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए।
कर्णालीले सुरुवातदेखि नै नियमित अन्तरालमा विकेट गुमाएको थियो। पहिलो ओभरको अन्तिम बलमा मार्क वाट १ रनमा आउट भए। त्यसपछि दीपक डुम्रे १३ र हुसेन तलत ३ रनमा पभेलियन फर्किए। अरिफुल र पवनले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि उनीहरू आउट भएपछि कर्णालीको रन गति अपेक्षाअनुसार अघि बढ्न सकेन। अक्बर अलीले १, कप्तान सोमपाल कामीले १ र गुल्सन झाले १२ रन बनाए। नन्दन यादवले ९ रन जोड्दा युवराज खत्री र युनिस ठकुरी अविजित रहे। जनकपुरका कप्तान हर्मीत सिंहले ३ विकेट लिए। मोइन अली र राहुल यादवले समान २ तथा ललित राजवंशीले १ विकेट लिए। यस जितसँगै कर्णालीले प्रतियोगितामा सुखद सुरुवात गरेको छ। एनपीएलअन्तर्गत मंगलबार साँझ ५ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।


प्रतिक्रिया दिनुहोस्