Skip to content

शैल्यशिखर नगरपालिकाका करार कर्मचारीहरूले झण्डै डेढ वर्षदेखि पाएनन् तलब, कार्यालयमा तालाबंदी गर्ने चेतावनी !

दार्चुला – शैल्यशिखर नगरपालिकाका करार कर्मचारीहरूले झण्डै डेढ वर्षदेखि तलब नपाएको रहस्य खुलेको छ ।शैल्यशिखर नगरपालिका वडा नं. ७ को कार्यालय बन्तोलीका वडा अध्यक्षलाई सम्बोधन गर्दै लेखेको पत्र सार्वजनिक भएपछि यस्तो रहस्य खुलेको हो । नरेन्द्र प्रसाद जोशी निवेदक रहेको पत्रमा भनिएको छ, … करार कर्मचारीहरुले पाउनुपर्ने पारिश्रमिक विगत २०८२-४-१ देखि हाल सम्म पनि नपाएकोले २०८३-७-११ देखि पारिश्रमिक नपाउन्जेल सम्म वडा कार्यालयमा तालाबन्दी गरि कार्यालयको कामकाज ठप्प राख्ने व्यहोरा जानकारी गराइन्छ ।” करार कर्मचारीहरुले पारिश्रमिक नपाएपछि बाध्य भएर वडा कार्यालयमा ताला बन्दी गरी कार्यालयको कामकाज ठप्प राखिने निवेदकले वडा अध्यक्षसमक्ष पेस गरेको निवेदनमा उल्लेख छ । शैल्यशिखर नगरपालिकाकामा एमाले नेतृत्वको स्थानीय सरकार छ । 
तलब तथा पारिश्रमिक पाउने व्यवस्थाको माग
स्थानिय निकाय वा सरकारी कार्यालयहरूमा कार्यरत करार कर्मचारीहरूका लागि कानुन तथा नियम अनुसार समयमै पारिश्रमिक भुक्तानी हुनुपर्ने व्यवस्था हुन्छ । तर यसरी झण्डै डेढ वर्षदेखि तलब रोकिएपछि कर्मचारीहरूको दैनिक जीवनयापनमा गम्भीर समस्या उत्पन्न भएको छ । सम्बन्धित स्थानीय तह (शैल्यशिखर नगरपालिका, गोकुलेश्वर, दार्चुला) ले यस विषयमा गम्भीर बनेर रोकिएको पारिश्रमिकको शिघ्र निकासा गरी कर्मचारीहरूको खातामा तलब पुग्ने व्यवस्था मिलाउनुपर्ने माग गरिएको छ। पारिश्रमिकको सुनिश्चितता नभएसम्म कार्यालयका सेवा प्रवाह तथा कामकाज सुचारु हुन नसक्ने कर्मचारीहरूको भनाइ छ । यस विषयमा नगरप्रमुख विजय धामीसँग हामीले सम्पर्क गर्दा उहाँको फोन उठेन । 

प्रतिक्रिया दिनुहोस्