काठमाडौँ – बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को आंशिक प्रभाव नेपालमा पर्ने भएको छ । पश्चिमी वायुको समेत प्रभाव रहेकाले शनिबारसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार १२ देखि १४ कात्तिक शनिबारसम्म चक्रवात ‘अर्नब’को प्रभावका कारण मौसम प्रभावित हुनेछ । यस अवधिमा केही स्थानमा भारी वर्षा तथा हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार चक्रवात ‘अर्नब’ बुधबार बिहान करिब ८:१५ बजे भारतको आन्ध्रप्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो । जमिनमा प्रवेश गरेपछि यो उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै क्रमश: कमजोर हुँदै गएको छ ।
बिहीबारदेखि शनिबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपात तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा समेत भारी वर्षा/हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।


प्रतिक्रिया दिनुहोस्