तीन दिनसम्म विविध कार्यक्रम
उत्सवको पहिलो दिन कात्तिक १७ गते उद्घाटन समारोह, सांस्कृतिक झाँकी, राष्ट्रिय तथा स्थानीय कलाकारका सांगीतिक प्रस्तुति र साहित्यिक कार्यक्रम आयोजना गरिनेछ । दोस्रो दिन कात्तिक १८ गते मैत्रीपूर्ण क्रिकेट र भलिबल प्रतियोगिता सञ्चालन हुनेछन् । तेस्रो दिन कात्तिक १९ गते जलवायु संवाद, योग तथा ध्यान शिविर र समापन कार्यक्रम आयोजना गरिने अध्यक्ष बोहराले जानकारी दिए । उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको छ । खेलकुद कार्यक्रमको उद्घाटन प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा शिक्षा तथा खेलकुदमन्त्री सुमित पोखरेलले गर्ने कार्यक्रम रहेको छ । अन्य अतिथिको सहभागिता टुंग्याउने काम भइरहेको र सहभागीको अन्तिम सूची भोलिसम्म सार्वजनिक गरिने गाउँपालिकाले जनाएको छ । उत्सवमा प्रधानमन्त्री, संघीय मन्त्री, प्रदेश सरकारका मन्त्री, संघीय तथा प्रदेश सांसद, सातै प्रदेशका पर्यटनमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सरकारी अधिकारी, स्थानीय तहका प्रमुख, पर्यटन तथा होटल व्यवसायी, उद्यमी, सञ्चारकर्मी र कलाकारलगायत कम्तीमा ५०० अतिथिलाई निमन्त्रणा गरिएको छ ।
एक हजार जनासम्मको व्यवस्थापन तयारी
प्रदेशस्तरीय कार्यक्रम भएकाले सहभागीको संख्या बढ्न सक्ने अनुमानसहित गाउँपालिकाले आवास तथा खानपानको व्यवस्थापनलाई प्राथमिकता दिएको छ । अध्यक्ष बोहराका अनुसार आधार शिविर क्षेत्रमा करिब ५०० जनालाई राख्न सकिने क्षमताको सर्वेक्षण गरिएको छ । थप ५०० जना सहभागी भए पनि व्यवस्थापन गर्न सकिने गरी अस्थायी टहरा तथा पालको व्यवस्था गर्ने तयारी भइरहेको छ । आधार शिविर क्षेत्रका होटलहरूको क्षमता सर्वेक्षण भइरहेको छ । होमस्टे, सामुदायिक आवास र होटलमा खानपान तथा बसोबासका लागि दररेट निर्धारण गरी सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ । स्थानीय आमा समूहलाई मौलिक भेषभूषामा सजिएर पाहुनाको स्वागत गर्न आग्रह गरिएको छ । उत्सवस्थलमा स्थानीय परिकार, हस्तकला तथा कृषि उत्पादनका सामग्रीका प्रदर्शनी र बिक्री कक्षसमेत राखिनेछन् । उत्सवलाई व्यवस्थित रूपमा सम्पन्न गर्न गाउँपालिका अध्यक्षको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ । विभिन्न शाखाका प्रमुख कर्मचारीको संयोजकत्वमा विषयगत उपसमिति बनाएर तयारीलाई तीव्र पारिएको छ ।
दुई दिनको पदयात्रा, बाटोमा सहायता केन्द्र
अपि हिमालको आधार शिविर पुग्न पदयात्रीले करिब दुई दिनको यात्रा गर्नुपर्नेछ। यात्राको पहिलो चरणमा होमस्टेमा बस्न सकिने र अन्तिम गाउँ सितिमा पनि होमस्टेको व्यवस्था रहेको गाउँपालिकाले जनाएको छ । त्यसभन्दा माथि चिया घर तथा अतिथिगृह उपलब्ध रहेकाले पदयात्रीको बसोबास सहज हुने अपेक्षा गरिएको छ । यात्रा सहजीकरणका लागि मकरीगाड, घुसा र सितिमा सहायता केन्द्र स्थापना गरिएको छ । धौलेओडार र आधार शिविरमा स्वास्थ्यकर्मीसहितका दुई स्वास्थ्य सहायता केन्द्र राखिने अध्यक्ष बोहराले जानकारी दिए । उच्च हिमाली क्षेत्रमा हुन सक्ने लेक लाग्ने समस्या तथा अन्य स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर प्राथमिक उपचारका औषधि, स्वास्थ्य सामग्री र पोर्टेबल अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको छ। बाटोमा पर्ने स्वास्थ्य चौकीबाट पनि आवश्यक सहयोग लिन सकिने गाउँपालिकाको भनाइ छ । गम्भीर स्वास्थ्य समस्या देखिएमा आधार शिविरबाट करिब दुईदेखि तीन घण्टा तलको क्षेत्रमा मोबाइल सञ्जाल उपलब्ध हुने भएकाले त्यहाँबाट सम्पर्क गरी थप उपचारको व्यवस्था मिलाउने तयारी गरिएको छ । गाउँपालिकामा सञ्चालित स्मार्ट हेल्थ कार्यक्रममार्फत काठमाडौँका चिकित्सकसँग भर्चुअल परामर्श लिने व्यवस्था पनि प्रयोग गरिने अध्यक्ष बोहराले बताए । शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्न प्रमुख जिल्ला अधिकारीसँग आवश्यक सुरक्षाकर्मी उपलब्ध गराइदिन आग्रह गरिएको छ ।
स्थानीय रोजगारीदेखि जलवायु परिवर्तनसम्मका विषय प्राथमिकतामा
उत्सवको उद्देश्य पर्यटक भित्र्याउनेमा मात्र सीमित नरहेको गाउँपालिकाले जनाएको छ । पर्यटनमार्फत स्थानीय आयआर्जन र दिगो रोजगारी सिर्जना गर्ने, स्थानीय कला, भाषा, संस्कृति तथा साहित्यको संरक्षण र प्रवर्द्धन गर्ने तथा कृषि उत्पादन र हस्तकलाको बजारीकरणमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ । त्यसैगरी जलवायु परिवर्तनले हिमाली वातावरण, पर्यटन र स्थानीय जीविकोपार्जनमा पारेको प्रभावबारे सरोकारवालाको ध्यानाकर्षण गराउने तथा अनुकूलनका उपायबारे सचेतना फैलाउने उद्देश्यले जलवायु संवाद आयोजना गर्न लागिएको हो । गाउँपालिकाले अपिहिमाल पर्यटन उत्सवलाई क्षेत्रको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियानका रूपमा अघि बढाएको छ। उत्सव सफल बनाउन सञ्चारमाध्यम र पत्रकारलाई व्यापक प्रचारप्रसार तथा सहभागिताका लागि गाउँपालिकाले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्