Skip to content

काठमाडौँ–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’, राष्ट्रपति पौडेलद्वारा उद्घाटन

Nepal Bank

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गर्नुभएको छ। ३ हजार ३९९ मिटर लम्बाइको उक्त सुरुङको ब्रेक थ्रु समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय पूर्वाधार विकासमा नेपाली सेनाले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्नुका साथै राष्ट्रनिर्माण तथा विकासका क्षेत्रमा समेत महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो।

राष्ट्रपति पौडेलले विकट भौगोलिक अवस्था, जटिल भूबनोट र प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्त्वका सडक तथा पूर्वाधार निर्माणमा नेपाली सेनाले प्रदर्शन गर्दै आएको व्यावसायिक दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय तथा अनुकरणीय रहेको उल्लेख गर्नुभयो। राष्ट्रिय गौरवका आयोजनाको ट्र्याक निर्माणदेखि विशेष प्रकृतिका सुरुङ र पुलसहित देशकै पहिलो द्रुतमार्ग निर्माणमा नेपाली सेना अहोरात्र खटिरहेको उहाँको भनाइ थियो। काठमाडौँ उपत्यकालाई तराई/मधेशसँग प्रत्यक्ष जोड्ने करिब ७१ किलोमिटर लामो आधुनिक द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने विश्वास राष्ट्रपति पौडेलले व्यक्त गर्नुभयो।

उहाँले द्रुतमार्ग सञ्चालनमा आएपछि यात्रा समय र दूरी उल्लेखनीय रूपमा घट्ने, इन्धन खपत तथा सवारीसाधनको सञ्चालन र मर्मतसम्भार खर्चमा बचत हुने बताउनुभयो। साथै, राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणमा आयोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो। राष्ट्रपति पौडेलले आयोजनाको महत्त्व भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नरहेको उल्लेख गर्दै यसले राजधानी काठमाडौँ र तराई/मधेशबीचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, पर्यटन प्रवर्द्धन, व्यापार तथा पारवहन सहजीकरण, क्षेत्रीय आर्थिक गतिविधिको विस्तार र दिगो विकासका लक्ष्य प्राप्तिमा समेत द्रुतमार्गको योगदान दूरगामी हुने उहाँले बताउनुभयो। आयोजना समयमै सम्पन्न गर्न प्रभावकारी समन्वय र आ–आफ्नो जिम्मेवारी पूर्ण प्रतिबद्धताका साथ निर्वाह गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले नेपाली सेनालाई सबै पक्षबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, पूर्वाधार विकासमन्त्री सुनील लम्साल, नेपालका लागि चीनका राजदूत चाङ माओमिङ, कोरियाका राजदूत पार्क जे क्यूङ तथा प्रधानसेनापति अशोकराज सिग्देललगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्