काठमाडौँ । गोठाटारस्थित अर्किड प्युपल सेकेन्डरीको आयोजनामा सञ्चालन भएको विद्यालयस्तरीय ‘अर्किड कप’ फुटबल प्रतियोगिताको उपाधि विद्यावाणी स्कुलले जितेको छ । रोमाञ्चक फाइनल खेलमा विद्यावाणीले एकलव्य स्कुललाई ५–४ गोल अन्तरले पराजित गर्दै ट्रफी उचालेको हो । निर्धारित समयमा खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमार्फत जित–हारको टुंगो लागेको थियो । खेल अवधिभर दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए। उपविजेतामा सीमित भएको एकलव्य स्कुलले दोस्रो स्थानमा चित्त बुझायो । यस्तै, विद्या विकास तेस्रो र निर्मल ज्योती चौथो स्थान हासिल गर्न सफल भए । फेयर प्ले अवार्ड भने एजीएम स्कुलले हात पारेको आयोजकले जनाएको छ । प्रतियोगितामा कूल ४६ विद्यालयको सहभागिता रहेको थियो । फागुन १ गतेबाट सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । समापन समारोहमा विजेता टोलीलाई नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । विजेताले ४० हजार रुपैयाँ, उपविजेताले २५ हजार रुपैयाँ, तेस्रो हुने टोलीले १५ हजार रुपैयाँ र चौथो स्थान हासिल गर्ने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक प्रेमकुमार भुजेलले खेलकुदले विद्यार्थीमा अनुशासन, आत्मविश्वास र नेतृत्व विकास गर्ने बताउँदै यस्ता प्रतियोगिताले विद्यालयस्तरमै प्रतिभा पहिचान गर्न ठूलो भूमिका खेल्ने उल्लेख गरे। उनले भने, “अर्किड कप केवल प्रतिस्पर्धा मात्र होइन, विद्यार्थीहरूको क्षमता उजागर गर्ने महत्वपूर्ण मञ्च हो। आगामी दिनमा अझ व्यवस्थित र भव्य रूपमा प्रतियोगिता सञ्चालन गर्ने हाम्रो लक्ष्य छ।” प्रतियोगिताले विद्यालयस्तरको फुटबल विकासमा सकारात्मक सन्देश दिएको सहभागी र अभिभावकहरूले बताएका छन् ।







प्रतिक्रिया दिनुहोस्