ओखलढुङ्गा – ओखलढुङ्गामा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका–६ का २३ वर्षीय अनिल मगर र ५९ वर्षीय निमबहादुर मगर रहेका छन्।
फरक–फरक मिति र समयमा ती किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक ईश्वर अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार आरोपित दुवै जनालाई शनिबार सिद्धिचरण नगरपालिका–११ को रमाइलोडाँडा र रामबजार क्षेत्रबाट पक्राउ गरिएको हो।
घटनाबारे अनुसन्धानका क्रममा पीडित किशोरी गर्भवतीसमेत रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले दुवै आरोपीलाई आइतबार ओखलढुङ्गा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान अघि बढाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्