काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले प्रदेश सरकारको नेतृत्व परिवर्तनजस्तो विषय पार्टीको संस्थागत निर्णयबाट मात्रै टुंग्याइनुपर्ने बताएका छन्। प्रदेश सरकारको नेतृत्व परिवर्तनलाई लिएर पार्टीभित्र विवाद बढिरहेका बेला उनले नेतृत्वको निर्णय प्रक्रियाप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका हुन्।
भट्टराईले कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री यामलाल कँडेललाई पदबाट हटाएर नेकपालाई नेतृत्व हस्तान्तरण गरिएको विषयमा प्रश्न उठाएका छन्। उनले कँडेल पार्टीका पुराना नेता, केन्द्रीय सचिव तथा सफल मुख्यमन्त्री रहेको उल्लेख गर्दै कर्णाली सरकारको कार्यसम्पादन, बजेट निर्माण, कार्यान्वयन र सुशासनका क्षेत्रमा सकारात्मक छवि बनेको अवस्थामा उनलाई हटाउनुको औचित्यमाथि प्रश्न गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत लेख्दै, “यामलाल कँडेल र कर्णालीको पार्टीलाई नै सजाय गर्नुपर्ने अवस्था किन आयो?” भन्दै नेतृत्वसँग जवाफ मागेका छन्।
भट्टराईले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाउने तयारीप्रति पनि असन्तुष्टि जनाएका छन्। उनले अन्य प्रदेशका मुख्यमन्त्री यथावत् रहँदा कोशीमा मात्रै नेतृत्व परिवर्तनको प्रयास किन गरिएको भन्दै प्रश्न गरेका छन्। उनले प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्नुपरे उचित कारण र स्पष्ट तर्कसहित पार्टीको केन्द्रीय निकाय, सम्बन्धित प्रदेश कमिटी र संसदीय दलमा छलफल गरेर निर्णय लिनुपर्ने धारणा राखेका छन्। नेतृत्वका बाध्यता भए त्यसलाई पारदर्शी रूपमा प्रस्तुत गर्न सकिने उल्लेख गर्दै उनले “साटासाट, ठोकाठोक र शक्तिको भाषाबाट होइन, समझदारी र संस्थागत प्रक्रियाबाट निर्णय हुनुपर्छ” भन्ने बताएका छन्।
भट्टराईले एउटै विषयमा फरक–फरक मापदण्ड अपनाउने प्रवृत्तिले पार्टीभित्र अन्योल र असन्तुष्टि बढाउने चेतावनी पनि दिएका छन्।



प्रतिक्रिया दिनुहोस्