Skip to content

अर्किड आइडलको तेह्रौँ संस्करणमा अस्लेषा कार्की विजेता

काठमाडौं – अर्किड आइडल नृत्य प्रतियोगिता–२०८३ को तेह्रौँ संस्करणअन्तर्गत आयोजित ग्रान्ड फिनालेमा कक्षा ९ की अस्लेषा कार्की विजेता बनेकी छन् । क्वालिफाइङ राउन्ड र सेमिफाइनल चरण पार गर्दै फाइनलमा पुगेका प्रतियोगीहरूले उत्कृष्ट नृत्य प्रस्तुत गरेपछि कार्कीले उपाधि जितेकी हुन् । प्रतियोगितामा कक्षा ७ की प्रिया जिरेल फर्स्ट रनरअप, कक्षा ७ कै शिवानी खड्का सेकेन्ड रनरअप र कक्षा ३ की सुप्रिया शिवाकोटी थर्ड रनरअप घोषित भएका छन्। त्यस्तै, कक्षा ७ की देविना कोइरालाले उत्कृष्ट भेषभूषाको उपाधि प्राप्त गरेकी छन् ।

तेह्रौँ संस्करणको ग्रान्ड फिनालेसम्म आइपुग्दा विद्यार्थीहरूले नृत्यमार्फत आफ्नो प्रतिभा, सिर्जनशीलता, आत्मविश्वास र कलाप्रतिको समर्पण प्रस्तुत गरेका थिए । विद्यालयका अनुसार प्रतियोगिताले विद्यार्थीभित्र लुकेका प्रतिभा पहिचान गर्दै आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ । अर्किड आइडललाई विद्यालयले विद्यार्थीको अतिरिक्त क्रियाकलाप तथा प्रतिभा विकासलाई प्राथमिकता दिने कार्यक्रमका रूपमा अघि बढाएको जनाएको छ। नृत्यसँगै यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास, अनुशासन, सिर्जनशीलता तथा मञ्चीय प्रस्तुति क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने विद्यालयका निर्देशक प्रेम कुमार भुजेलले बताए ।

प्रतियोगिताको अन्तिम चरणमा के.पी. पौडेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए । उनले प्रतियोगीहरूको नृत्य कौशल, प्रस्तुति, लय, भावभङ्गिमा तथा समग्र प्रतिभाका आधारमा मूल्याङ्कन गरेका थिए । विद्यालयले निष्पक्ष मूल्याङ्कनका लागि पौडेलप्रति धन्यवाद तथा सम्मान व्यक्त गरेको छ ।

विद्यालयका प्रधानाध्यापक सी.बी. कार्कीले अर्किड आइडलले विद्यार्थीभित्र लुकेको प्रतिभा पहिचान गरी त्यसलाई प्रस्फुटन गर्ने अवसर प्रदान गर्दै आएको बताए । उनले अध्ययनसँगै विद्यार्थीको कला, संस्कृति, सिर्जनशीलता र आत्मविश्वास विकासलाई विद्यालयले विशेष प्राथमिकता दिएको उल्लेख गर्नुभयो। प्रतियोगितामा सहभागी सबै विद्यार्थी बधाईका पात्र भएको बताउँदै उहाँले प्रतियोगिता जित्नु मात्र सफलता नभई आफ्नो प्रतिभा मञ्चमा प्रस्तुत गर्ने साहस र निरन्तर सिक्ने प्रयास पनि ठूलो उपलब्धि भएको बताए । प्रधानाध्यापक कार्कीले आगामी दिनमा पनि विद्यार्थीको प्रतिभा विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालय संयोजक नरेन्द्र पाण्डेयले अर्किड आइडलको तेह्रौँ संस्करणसम्म आइपुग्दा विद्यार्थीको उत्साह र सहभागिता अझ बढ्दै गएको बताए । क्वालिफाइङ राउन्डदेखि सेमिफाइनल हुँदै ग्रान्ड फिनालेसम्म विद्यार्थीहरूले उत्कृष्ट नृत्य प्रस्तुत गरेको उनको भनाइ छ ।उनका अनुसार प्रतियोगिताको उद्देश्य विद्यार्थीबीच प्रतिस्पर्धा गराउनु मात्र नभई उनीहरूको प्रतिभा पहिचान गर्दै आत्मविश्वास, अनुशासन, सिर्जनशीलता र मञ्चीय प्रस्तुति क्षमता विकास गर्नु हो । कार्यक्रम सफल बनाउन सहयोग गर्ने अभिभावक, शिक्षक, विद्यार्थी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संलग्न सबैप्रति प्रधानाध्यापक तथा विद्यालय परिवारले आभार व्यक्त गरेको छ । विद्यालयले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने जनाएको छ । ग्रान्ड फिनालेमा सहभागी २४ विद्यार्थीमध्ये अस्लेषा कार्कीले उपाधि जित्दा प्रिया जिरेल, शिवानी खड्का र सुप्रिया शिवाकोटी क्रमशः फर्स्ट, सेकेन्ड र थर्ड रनरअप बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्