रामेछाप – विद्यार्थी जीवनदेखि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका रामेछापका नेता नारायणबहादुर खड्का नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि खुलातर्फ उम्मेदवार बनेका छन् । कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि चयन प्रक्रिया अघि बढाइरहेका बेला खड्काले आफ्नो लामो राजनीतिक संघर्ष, पार्टीप्रतिको निष्ठा र संगठनसँगको निरन्तरतालाई उम्मेदवारीको आधार बनाएका छन् ।
२०२७ मंसिर २ गते रामेछापको साविक बेथान गाविस–३ मा बुवा हर्कबहादुर खड्का र आमा माया खड्काको परिवारमा जन्मिएका खड्का २०३८ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएसँगै औपचारिक रूपमा राजनीतिमा सक्रिय भएका थिए । लोकतान्त्रिक आन्दोलनका क्रममा समेत उनी पटक–पटक पक्राउ परेका थिए। २०४२ सालको सत्याग्रहका क्रममा रामेछापडाँडामा दुई दिन प्रहरी हिरासतमा परेका खड्का २०४६ सालको जनआन्दोलनका क्रममा २८ दिन हनुमानढोका प्रहरी हिरासतमा बसेका थिए । २०४५ सालमा पशुपति बहुमुखी क्याम्पस, चाबहिलको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेपाल विद्यार्थी संघका तर्फबाट सभापति पदमा उम्मेदवारी दिएका उनी ६ मतले पराजित भएका थिए । बहुदलीय लोकतन्त्र पुनःस्थापनापछि पनि उनले पार्टी संगठनमा सक्रियता निरन्तर राखे । २०४७ सालमा नेपाल विद्यार्थी संघ काठमाडौं सम्पर्क समितिको सभापतिको जिम्मेवारी सम्हालेका खड्काले त्यसपछि रामेछाप केन्द्रित पार्टी राजनीतिमा सक्रिय भूमिका निर्वाह गरे ।
२०४८ र २०४९ सालका निर्वाचनका क्रममा आफ्नै जन्मथलो बेथानमा तत्कालीन प्रतिपक्ष जनमोर्चासँग जोडिएको राजनीतिक तनावका क्रममा आफूविरुद्ध ज्यान जानेसम्मको आक्रमण भएको तथा २०५१ सालको आमनिर्वाचनमा रामेछाप क्षेत्र नम्बर १ को चुनावी कमाण्डरका रूपमा काम गर्दा बाम्ती–भण्डारमा समेत गम्भीर आक्रमणमा परेको विवरण उनले आफ्नो राजनीतिक यात्राका क्रममा उल्लेख गर्दै आएका छन् । २०५२ देखि २०५७ सालसम्म नेपाली कांग्रेस रामेछाप जिल्ला कार्यसमितिको सहसचिवको जिम्मेवारी सम्हालेका खड्का त्यसपछि पार्टीको १३औँ महाधिवेशनसँगै नेपाली कांग्रेस रामेछापको जिल्ला प्रवक्ताको भूमिकामा रहे। सो क्रममा उनले पार्टीका राजनीतिक धारणा र गतिविधि सार्वजनिक गर्ने जिम्मेवारीसमेत निर्वाह गरे ।
लामो समय पार्टीमा विभिन्न जिम्मेवारी सम्हाले पनि पछिल्लो समय औपचारिक जिम्मेवारीमा नरहेका खड्काले भने आफ्नो राजनीतिक सक्रियता र संगठनसँगको सम्बन्धमा कुनै कमी नआएको दाबी गरेका छन् । यसपटक खुलातर्फ १० जना उम्मेदवारमध्ये एकका रूपमा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका खड्काले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पदभन्दा पार्टीप्रतिको निष्ठा, राजनीतिक योगदान र संगठनसँगको निरन्तरतासँग जोडेर प्रस्तुत गरेका छन् । ‘राजनीतिमा पद आउँछन् र जान्छन्, तर पार्टीप्रतिको निष्ठा र विचारप्रतिको प्रतिबद्धता स्थायी हुनुपर्छ,’ खड्काले भने, ‘जिम्मेवारी पाउँदा मात्र संगठनमा देखिने होइन, जिम्मेवारी नहुँदा पनि पार्टी र कार्यकर्तासँग उभिन सक्नु नै वास्तविक राजनीतिक निष्ठा हो ।’ खड्का स्पष्ट वक्ता तथा संगठनसँग निरन्तर जोडिइरहने नेताका रूपमा आफूलाई प्रस्तुत गर्दै आएका छन्। उनको उम्मेदवारीले रामेछाप कांग्रेसमा लामो राजनीतिक अनुभव, संघर्ष र संगठनप्रतिको निरन्तरताको विषयलाई समेत बहसमा ल्याएको छ । खड्काले आफूले पदका लागि भन्दा पनि पार्टीको विचार, संगठन र कार्यकर्तासँगको सम्बन्धलाई प्राथमिकतामा राख्दै उम्मेदवारी दिएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्