काठमाडौँ – बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाइएको भन्दै सिंहदरबार परिसरमै अनशन बस्ने चेतावनी दिएका छन् । विगत एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृतको माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय धाइरहेका अध्यक्ष चन्दले मन्त्रालयले आफ्नो मागको सुनुवाइ नगरेको भन्दै आक्रोश व्यक्त गरेका हुन्। उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको सम्पूर्ण प्रशासनिक कामकाज ठप्प भएको छ । ‘मलाई यहाँ आएको एक महिना भइसक्यो, उता गाउँपालिकामा जनताले कराएको कराइ छन्, सबै काम ठप्प छ,’ अध्यक्ष चन्दले भने, ‘म एकदम वाक्क दिक्क भइसकेँ ।’ उनले भोलिसम्म पनि मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नगरे सिंहदरबारभित्रै अनशन बस्ने घोषणा गरेका छन् । ‘भोलिसम्म कार्यकारीको व्यवस्था भएन भने म यहीँ अनशन बस्छु र पत्रकार सम्मेलन गरेर मिडियामा कुरा राख्छु। अब यो कदम चाल्न अति जरुरी भइसकेको छ,’ उनले भने । अध्यक्ष चन्दले मन्त्रालयका कर्मचारी र संयन्त्रमाथि गम्भीर आरोप समेत लगाएका छन्। सभ्य भाषामा पटक–पटक अनुरोध गर्दा पनि मन्त्रालयले नटेरेको उनको गुनासो छ । ‘यहाँका कर्मचारीहरू पुरानै मानसिकताका छन्। सचिव, सहसचिवदेखि तलसम्म दलालहरू हाबी छन्,’ उनले भने, ‘कसैले पैसा दियो भने तुरुन्तै काम हुन्छ, नत्र झुलाएर राख्ने प्रवृत्ति छ। यिनीहरूलाई संघीयता पचेको छैन र संघीयताको मर्मअनुसार काम गर्न चाहँदैनन् ।’ उनले मन्त्रालय दलालहरूको प्रभावमा मात्र चलिरहेको आरोप लगाउँदै आफूजस्ता दूरदराजका गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधि तथा सर्वसाधारण जनताले अनावश्यक सास्ती भोग्नुपरेको बताए । सिंहदरबारमा व्याप्त यस्ता प्रवृत्तिको भण्डाफोर गर्न र यसबारे सबै ठाउँमा जानकारी गराउन आवश्यक रहेको अध्यक्ष चन्दको भनाइ छ ।





प्रतिक्रिया दिनुहोस्