Skip to content

लोकतन्त्र असहमतिको सम्मानमा टिक्छ, दुर्व्यवहार राजनीतिक संस्कार होइन : अम्बिका चलाउने

काठमाडौँ  – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समिति सहमहामन्त्री तथा पञ्चदेवल विनायक नगरपालिका, अछामका नगरप्रमुख अम्बिका चलाउनेले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष नै ‘असहमत हुने अधिकार’ भएको बताएका छन् । आफूसँग विचार नमिल्ने व्यक्तिलाई पनि सम्मान गर्न सक्नु नै सच्चा लोकतन्त्रवादीको पहिचान भएको उनको भनाइ छ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारको प्रयासप्रति कडा निन्दा गर्दै चलाउनेले विचारको युद्ध विचारबाटै लडिनुपर्नेमा जोड दिए । “हातपात, अभद्र व्यवहार वा दुर्व्यवहार कहिल्यै पनि लोकतान्त्रिक अभ्यास हुन सक्दैन,” उनले भने, “जब कार्यकर्तामा तर्क सकिन्छ र दास मानसिकता हाबी हुन्छ, तब असहिष्णुता बढ्छ।”

उनका अनुसार नेतृत्वसँग असहमति हुन सक्छ, कार्यशैलीमाथि प्रश्न उठाउन सकिन्छ, तर भौतिक आक्रमण वा दुर्व्यवहार कुनै पनि हालतमा राजनीतिक संस्कार बन्न नसक्ने स्पष्ट छ। “यस प्रकारका घटनाले पार्टीभित्रको अनुशासनहीनता र अराजकतालाई उदाङ्गो पारेको छ,” चलाउनेले बताए । नेता चलाउनेले यो प्रतिक्रिया आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपा पुगेका नेता विमलेन्द्र निधि र पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शनरत समूहबीच चर्काचर्की भएपछि दिएका हुन् । पार्टी केन्द्रीय कार्यालय घेराउका लागि पुगेका विशेष पक्षधर केही कार्यकर्ताहरूले नेता निधि लिंक रोड हुँदै कार्यालय प्रवेश गर्न खोज्दा अवरोध पुर्‍याएका थिए। सो क्रममा निधि र कार्यकर्ताबीच चर्काचर्की भएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा दुई पक्षबीच तीव्र वाक्–विवाद भएको स्पष्ट देखिन्छ। घटनाप्रति प्रतिक्रिया जनाउँदै चलाउनेले पार्टीभित्र लोकतान्त्रिक संस्कार, सहिष्णुता र अनुशासन बलियो बनाउन नेतृत्व र कार्यकर्तादुवै गम्भीर हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्